बैतडी: जेन जीको प्रदर्शनपपछि बैतडीमा लागेको कर्फ्यु तथा निषेधाज्ञा हटेपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ।
कर्फ्यु तथा निषेधाज्ञा हटेपछि सवारी साधन सञ्चालनमा आएका छन् भने पसलहरु पनि खुलेका छन्। शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो।
जेनजीको प्रदर्शनपछि जिल्लाको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। केही दिन नियमित रुपमा सञ्चालन हुन नसकेका सवारी साधनहरु लामो तथा छोटो दुरीमा नियमित रुपमा सञ्चालन भएका उनले बताउनुभयो।
जेन जी प्रदर्शनपछि बैतडी कारागारबाट कैदीबन्दी र थुनुवा भागेपछि थप सुरक्षा चुनौती थपिएको थियो। भागेका कैदीबन्दी र थुनुवामध्ये ४० जना प्रहरीको नियन्त्रणमका आइसकेका र बाँकीको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो।
जिल्लामा शान्ति, सुरक्षाको अवस्था अहिले सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। जेन जी प्रदर्शनपछि लागेको कर्फ्यु र निषेधाज्ञा हटेपछि बजारमा चहलपहल बढ्न थालेको मुस्याचौरका होटेल व्यवसायी मानबहादुर टेरले जानकारी दिनुभयो।