बैतडी कारागारबाट भागेका ५२ कैदीबन्दी पक्राउ, १० जना अझै फरार

बैतडी : जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते राति बैतडी कारागारबाट भागेकामध्ये ५२ जना कैदीबन्दी तथा थुनुवा प्रहरीको नियन्त्रणमा आएका छन्। फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्नका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको र अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरिसकेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

बाँकी रहेका १० जना फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। भदौ २४ गते राति बैतडी कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । फरार भएकामध्ये चारजनालाई भारतबाट पक्राउ गरिएको छ। फरार कैदीबन्दीलाई पक्राउ गर्नका भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।

कैदीबन्दी तथा थुनुवाहरु भागेपछि जिल्लाभरीका प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुलाई पक्राउ गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। प्रहरीले सूचनामार्फत भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो।

कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर उनीहरुलाई पक्राउ गर्न अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए। संयुक्त संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए। उनका अनुसार डडेल्धुराबाट भागेका ६ जना, डोटीबाट भागेका चार जना र दार्चुला कारागारबाट भागेका एक जनालाई बैतडीबाठ नियन्त्रणमा लिइएको हो ।

फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारमा फिर्ताका लागि आग्रह गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।

Leave A Reply

Your email address will not be published.