बैतडीमा ५८ जना कैदीबन्दी प्रहरी नियन्त्रणमा, चार जना अझै फरार

बैतडी: जेनजी प्रर्दशनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार साँझसम्म ५८ जना कैदीबन्दी तथा थुनुवाहरु प्रहरी नियन्त्रणमा आइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए। बैतडीमा कारागारमा ५४ जना कैदीबन्दी र ८ जना थुनुवा गरेर ६२ जना बस्दै आएका थिए।

गएको २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर उनीहरु सबै भागेका थिए। भागेका मध्ये ७ जना थुनुवा र ५१ जना कैदीबन्दीलाई कारागारमा ल्याइसकेको प्रहरी निरीक्षक बडूले बताए।

भागेका मध्ये तीन जना कैदीबन्दी र एक जना थुनुवा अझै फरार रहेका छन्। फरार रहेकाहरुको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए। सीमा नाकासमेत उनीहरुको फोटोसहितको हुलिया पठाइएको छ।

प्रहरीले संयुक्त अप्रेशन सञ्चालन गरेर भागेका कैदीबन्दी र थुनुवाहरुलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए।

फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गरिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्। उनले भनिन्, ‘भागेका कैदीबन्दी तथा थुनुवामध्ये ५८ जना कारागारमा आइसकेका छन्। फरार रहेकाहरुलाई पनि तुरुन्त सम्पर्कमा आउन र अन्यथा थप कारवाही हुने कुरा हामीले जारी गरिसकेका छौं।’

जिल्ला कारागारको बन्दीगृहमा अहिले ६० जना कैदीबन्दी तथा थुनुवा पुगेका छन्। एकजना दार्चुला कारगाराबाट भागेका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको छ। उनको घर बैतडी नै भएकाले उनलाई पनि यतै राखिएको भण्डारीले बताइन्।

एकजना नयाँ थुनुवा थपिएपछि अहिले कारागारमा ६० जना पुगेका छन्। सिगासकी बेलमती धामीको हत्यामा संलग्न यज्ञसिंह धामी अहिले पुर्पक्षका लागि कारागामा रहेका बताइएको छ।

भदौ २४ गते रातिको तोडफोड र आगजनीबाट कारागारको बन्दीगृहमा क्षति पुगेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.