बैतडीको शिवनाथमा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु

बैतडी : शिवनाथमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनपत्याका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको आफन्त सुरत कुमार पार्कीले जानकारी दिनुभयो। मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गएको भदौ २२ गते अरिङ्गालले टोकेको थियो।

काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए। भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालमा घर ल्याइएको पार्कीले बताउनुभयो।

अरिङ्गालको टोकाइबाट सिकिस्त भएका दयालको शनिबार मृत्यु भएको जनाईएको छ। मृतक दयालको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

अकालमै दयालको मृत्यु भएपछि बिनपत्या गाउँ शोकमा डुबेको छ।

Leave A Reply

Your email address will not be published.