बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो

बैतडी –नवरात्र शुरु भएसँगै बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । नवरात्र उपासना गरि देवीको दर्शन गर्ने परम्परा रहेकाले शक्तिपीठ तथा मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको हो ।

दशैँको समयमा दर्शनका लागि घर बाहिर रहेकाहरु पनि आउने भएकाले शक्तिपीठहरुमा दशैँको समयमा चहलपहल हुने गरेको त्रिपुरासुन्दरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताउनुभयो। यहाँका शक्तिपीठ तथा मन्दिरहरुमा दशैँको समयमा बसाइसराई गरेर गएकाहरु पनि आउने गर्दछन् ।

जिल्लाको प्रसिद्ध मेलौली भगवती मन्दिरमा दशैँको समयमा हजारौं दर्शनार्थीहरु पुग्ने गरेका मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताउनुभयो । अन्य समयको तुलनामा दशैँको समयमा दर्शनार्थीहरु बढी आउने गरेका उनले बताउनुभयो । मेलौली भगवती मन्दिरमा नवरात्रामा पशुबलिसहित जात्रा हुने भएकाले भाकल गरेका भक्तजनहरु टाढाटाढाबाट आउने गरेका उनले बताउनुभयो ।

यो समयमा तल्लोसोराड क्षेत्रका मात्रै नभएर अन्य ठाउँका भक्तजनहरु समेत भगवतीको दर्शनका लागि पुग्ने गरेका मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले बताउनुभयो ।

भगवतीका अधिकांश मन्दिरमा महाष्टमीका दिन बलिसहित जात्रा हुने भएपनि यो मन्दिरमा दशैँको दिन बलिसहित जात्रा हुनेगरेको छ ।

Leave A Reply

Your email address will not be published.