बैतडी: जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन शुरु

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले सदरमुकामस्थित गोठलापानी बजारमा मंगलबार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताउनुभयो।

गोठलापानी बजारमा ४२ ओटा पसलहरुमा अनुगमन गरिएको र म्याद नाघेका सामग्री नभेटिएका उनले बताउनुभयो। पसल, होटेल लगायतमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको हो।

पछिल्लो समयमा बजारमा अनुशासन कायम हुँदै गएको बताइएको छ। म्याद नाघेका सामग्री विक्रि गर्न नहुने कुरामा व्यापारी पनि सचेत भएका छन् भने उपभोक्ताहरुले पनि सचेतता अपनाउन थालेका छन्।

बजार अनुगमनको क्रममा नियमानुसार दर्ता र नवीकरण गर्न आग्रह गरिएको कठायतले बताउनुभयो। दर्ता र नवीकरण नभएका पसलहरुलाई यथाशीघ्र दर्ता प्रक्रियामा जान आग्रह गरिएको उनले बताउनुभयो।

चाडपर्वको समयमा महंगी,कालोबजारी लगायतका समस्याहरु देखिन सक्ने भएकाले अनुगमन समितिले यो तर्फ पनि ध्यान दिएको उनले बताउनुभयो।

यस्तै स्थानीय तहका बजारमा अनुगमन गर्ने अधिकार स्थानीय तहहरुलाई दिइएको छ। उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिले स्थानीय तहको बजार अनुगमन गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कठायतले बताउनुभयो। बजार अनुगमनका बिषयमा जानकारी दिएका स्थानीय तहहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समेत सहभागिता रहने उनले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.