बैतडी कारागारबाट भागेका ६० जना फर्किए, दुई जना अझै फरार

बैतडी कारागारबाट भागेका दुई जना कैदीबन्दी अझै फरार रहेका छन्। जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६० जना फर्किसकेका छन् भने दुई जना अझै फरार रहेका छन्।

कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र ८ जना थुनुवा भागेका थिए। ती मध्ये ५२ जना कैदीबन्दी र ८ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्।

फरार रहेका दुई जना कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए। उनीहरुको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको भएपनि फेला पार्न नसकिएको उनले बताए । फर्किन बाँकी कैदीमा एक जना सवारी अंगभंग र एक जना जबरजस्तीकरणी मुद्दाका रहेका छन्।

फरार रहेका कैदीबन्दीमध्ये चार जनालाई भारतको पिथौरागढबाट पक्राउ गरिएको थियो। धेरैजसो भने आँफै सम्पर्कमा आएका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन्।

बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदीबन्दी बैतडी कारागारमा सम्पर्कमा आएका थिए। चार जनामध्ये एक जना काठमाण्डौं, एक जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए।

उनीहरुमध्ये मकवानपुर र दार्चुलाबाट भागेर आएका कैदीबन्दीलाई दार्चुला कारागार पठाइएको छ भने कञ्चनपुरबाट भागेर आएका कैदीबन्दीलाई कञ्चनपुर पठाइएको भण्डारीले बताइन्। कारगार कार्यालय जगन्नाथ देवल काठमाण्डौंबाट भागेर आएका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताइन्।

कारागार कार्यालय बैतडीको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता रहेको भएपनि अहिले ६२ जना रहेका छन्।

Leave A Reply

Your email address will not be published.