बैतडीको मेलौलीमा विश्व हुलाक दिवस मनाईयो

बैतडी : बैतडीको मेलौलीमा १५१ औं बिश्व हुलाक दिवस मनाईएको छ। बिहीवार हुलाक कार्यालय मेलौलीको आयोजनामा १५१ औं बिश्व हुलाक दिवस मनाईएको हो।

मेलौली नगरपालिकाको सभाहलमा विश्व हुलाक दिवस मनाईएको हुलाक कार्यालय मेलौलीका कार्यालय प्रमुख गोकर्ण बहादुर चन्दले बताउनुभयो। कार्यक्रममा मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द, नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत सपना कार्की, मेलौली नगरपालिकाका वडाध्यक्षहरु, वडासदस्यहरु, सुरक्षाकर्मी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भिम बहादुर चन्दले हुलाक सेवा विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा रहेको बताउनुभयो। नेपालको हुलाक सेवालाई चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने उहाँले बताउनुभयो।

यसैगरी कार्यक्रममा बोल्दै मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्टले सबै सरकारी दस्तावेजहरू हुलाकमार्फत नै ओसारपसार गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी हुलाक वस्तुको सरल, सहज, समयवद्ध पहुँचको सुनिश्चित गर्नेगरी हुलाक सेवालाई अघि बढाईनुपर्ने बताउनुभयो।

कार्यक्रममै बोल्दै हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पु¥याएको प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताउनुभयो।

हुलाक कार्यालय मेलौलीका कार्यालय प्रमुख गोकर्ण बहादुर चन्दले मेलौलीको हुलाक कार्यालय जिर्ण अवस्थामा रहेकाले काम गर्न असहज भएको बताउनुभयो। कार्यालयको भौतिक लगायत अन्य समस्याहरु समाधानमा स्थानीय सरकारले भुमिका खेलिदिनुपर्ने उहाँले बताउनुभयो।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सघंको महासभाले विश्व हुलाक दिवस घोषणा गरेको हो। त्यसपछि विश्वका विभिन्न देशले वार्षिक रूपमा यो दिवस मनाउँदै आएका छन्। यो दिवसमा धेरै देशका हुलाकले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!