स्वास्थ्य क्षेत्रमा जोरायल प्रथम
स्वास्थ्य कार्यालय डोटीले हरेक वर्ष विभिन्न सूचक राखेर पालिकाहरूको मूल्यांकन गर्दै आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दिल्लीरमण जोशीले बताए
डोटी-डोटीको जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ । स्वास्थ्य कार्यालय डोटीले बिहीबार प्रस्तुत गरेको मूल्यांकनमा ८३.९ अंक ल्याउँदै जोरायल गाउँपालिका प्रथम भएको हो ।
बिहीबार स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जोरायलको स्वास्थ्य शाखालाई दोसल्ला र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको छ ।
डोटीमा २ नगर र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेका छन् । गत आर्थिक वर्ष ०८१र०८२ मा सम्पादित स्वास्थ्य क्रियाकलापको मूल्यांकन गरेर जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय डोटीले नतिजा सार्वजनिक गरेको हो ।
कार्यक्रमका जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द विष्टलाई सम्मान प्रदान गरेका हुन् ।
स्वास्थ्य कार्यालय डोटीले गरेको मूल्यांकनमा केआई सिंह गाउँपालिका ८३.७ अंक ल्याउँदै दोस्रो भएको छ । त्यस्तै तेस्रो स्थानमा आदर्श गाउँपालिका परेको छ । आदर्श गाउँपालिकाले ८२.७ अंक ल्याएको छ ।
स्वास्थ्य कार्यालय डोटीले हरेक वर्ष विभिन्न सूचक राखेर पालिकाहरूको मूल्यांकन गर्दै आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दिल्लीरमण जोशीले बताए।
त्यस्तै जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई सम्मान र शाखालाई कदर पत्रसमेत प्रदान गरिएको स्वास्थ्य कार्यालय डोटीका खोप कार्यक्रम संयोजक सूर्य विष्टले बताए ।
त्यसै गरी जिल्ला अस्पताल डोटी, सुजङ अस्पताल राजपुर, शैलेश्वरी अस्पताल दिपायल, आयुर्वेद कार्यालय दिपायललाई कदर पत्र प्रदान गरिएको छ ।
बुधबार र बिहीवार गरी दुई दिन संचालन भएको समीक्षा गोष्ठीमा नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, नर्सिङ शाखा, जिल्ला अस्पतालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।