बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’यही कात्तिक १८ र १९ गते हुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रालाई ‘देहीजात’ भन्ने गरिन्छ।
मेलौली नगरपालिका १ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहीजात’मा टाढाटाढाका भक्तजनहरु समेत आउने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताउनुभयो । सो जात्रामा राँगाको बलि दिइने गरेको उनले बताउनुभयो ।
देहिजाँतको रूपमा परिचित मेला पशुबली सहित भव्य रुपमा लाग्ने गर्छ । मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन् ।
मेलामा व्यापार गर्नका लागि भारतबाट समेत व्यापारीहरु आउने गर्दछन् । मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरु, इष्टमित्र तथा परिवारसँगको भेटघाट र यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ ।
आफन्तजन तथा इष्ट मित्रहरुका लागि जात्रामा आउनेहरुले माँडा लिएर आउने प्रचलन रहेको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले बताउनुभयो । जात्रामा स्थानीय उत्पादनको बिक्री समेत हुने गर्दछ ।