बैतडी: दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेका जात्रा समापन भएको छ।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ। यो जात्रामा नेपाल र भारतका हजारौं दर्शनार्थीहरुले दर्शन गरेको त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए।
त्रिपुरासुन्दरी भगवतीको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। त्रिपुरासुन्दरीको जात्रामा यो बर्ष ७० राँगा र १ सय ५० बढी बोकाको बलि चढाइएको छ।
यो मन्दिरमा पशु बलिसहित जात्रा हुने गर्दछ। त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।
टाढाका दर्शनार्थीहरु भाकलसहित मन्दिरमा पुग्ने गरेका थापाले बताए। त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीबाट पूजाआजा शुरु भएको विश्वास गरिएको छ।