बैतडी –बैतडीको मेलौली नगरपालिका स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ ।सो मन्दिरमा हरेक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।
यो बर्षको जात्रा आज (बुधबार) पशुबलि सहित सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकले बताउनुभयो ।मेलौली भगवती मन्दिरमा यो बर्ष ५६ राँगा र ७७ बोकाको बलि दिइएको छ ।
पूर्णिमाको बिहानै बलि सहित पूजाआजा भएपछि जात्रा सम्पन्न हुने गरेको छ । जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको थियो ।मेलामा यो बर्षपनि हजारौं दर्शनार्थीहरुले दर्शन गरेको वडा न १ का वडा अध्यक्ष सरद सिंह नेगीले बताउनुभयो ।
मेलौली मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा ‘देहीजात’ भन्ने चलन रही आएको छ । यो जात्रामा टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय चिन्ता सिंह विष्टले बताउनुभयो ।
कार्तिक शुक्ल चतुर्दशीका दिन भण्डार घरबाट ल्याएको भगवतीको भण्डारलाई पूर्णिमाका दिन फेरी भण्डार घरमै पुर्याउने चलन रही आएको छ ।
यो जात्रामा स्थानीय कृषि उपजहरुले राम्रो बजार पाउने गरेका छन् । स्थानीय किसानहरुले उत्पादन गरेका केरा, सुन्तला, अदुवा लगायतका कृषि उपजहरुको यो जात्रामा राम्रो विक्रिवितरण हुने गरेको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले जानकारी दिनुभयो ।
जात्राको उपलक्ष्यमा मेलौली नगरपालिकाले मंगलवार र बुधबार गरी २ दिन सार्वजनिक बिदा समेत दिएको थियो ।