प्रसिद्ध मेलौली देहिजाँतः जात्रामा भएको आम्दानी सार्वजनिक

बैतडी: मेलौली भगवती मन्दिरमा लागेको जात्राको अवसरमा भएको आम्दानी सार्वजनिक गरिएको छ। मेलौली धार्मिक सेवा समितिले जात्राको समयमा विभिन्न शीर्षकमा २ लाख ८० हजार ५ सय २ रुपैयाँ आम्दानी भएको जनाएको छ।

मेलौली धार्मिक सेवा समितिको आज बसेको बैठकले जात्राको समयमा भएको आम्दानी विवरण सार्वजनिक गरिएको समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए। यो बर्षको जात्रामा सेवा समितिले व्यवसायिक स्टलबाट २ लाख ४ हजार ४ सय १५ रुपैयाँ आम्दानी गरेको छ।

यस्तै सेवा दर्ताबाट २९ हजार ७६५ रुपैयाँ, दानपेटीबाट १ हजार ३ सय ३० रुपैयाँ, सेवाभेटीबाट ४ हजार ७९२ रुपैयाँ आम्दानी भएको जनाइएको छ। यस्तै समितिको खातामा १३ हजार २ सय आम्दानी भएको अध्यक्ष नायकले बताए।

जात्रामा भएको खर्चको विवरण भने केही दिनभित्रै सार्वजनिक गरिने समितिले जनाएको छ। जात्राको समयमा समितिले विभिन्न शीर्षकमा खर्च गरेको केही दिनभित्रै खर्च विवरण सार्वजनिक गरिने बताइएको छ।

प्रसिद्ध मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। हिजो सम्पन्न भएको जात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.