बैतडी कारागारबाट भागेका एकजना कैदीबन्दी अझै फरार रहेका छन्। जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते कारागारबाट भागेका ६१ जना फर्किसकेका छन् भने एक जना अझै फरार रहेका छन्।
जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीमध्ये जबरजस्तीकरणी मुद्दाका एकजना अझै सम्पर्कमा नआएका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन्। पाटन नगरपालिका–३ गुजर घर भएका राजेश लुहार सम्पर्कमा नरहेका भण्डारीले बताइन्। उनको प्रहरीमार्फत खोजीकार्य जारी रहेको छ।
जिल्ला अदालतको फैसलाबाट जबरजस्तीकरणी मुद्दामा १० बर्षे कैद सजाय भोगिरहेका लुहार जेनजी प्रदर्शनका क्रममा फरार भएका हुन्। जेनजी प्रदर्शनको क्रममा कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र ८ जना थुनुवा भागेका थिए। ती मध्ये ५३ जना कैदीबन्दी र ८ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन्।
फरार रहेका राजेश लुहारको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनी भारततर्फ भागेको आशंकामा भारतीय पक्षसँग समेत समन्वय भइरहेको प्रहरी निरीक्षक सिंहले बताए।
फरार रहेका लुहारलाई अब थप कैद सजाय हुन सक्ने कारागार कार्यालयकी प्रमुख भण्डारीले बताइन्। कारागार कार्यालयको बन्दीगृहमा अहिले ५२ जना कैदीबन्दी र ८ जना थुनुवा गरेर ६० जना रहेका छन्। कारागार कार्यालयको बन्दीगृहमा २५ जना कैदीबन्दी बस्ने क्षमता भएपनि झण्डै तेब्बर कैदीबन्दी र थुनुवा रहेका छन्।