बैतडीको मेलौलीमा रहेको सामुदायिक रेडियो मेलौली एफएमका स्टेशन म्यानेजर लक्ष्मण विसी र बजार व्यवस्थापक मंगेश दयाललाई समाचारको विषयलाई लिएर ज्यानमार्ने धम्की आएको छ। समाचारका विषयलाई लिएर बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ घर भएका पञ्चेश्वर स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत भानबहादुर चन्दले पटक-पटक फोनमार्फत अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको भन्दै कारवाहीको माग गरिएको छ ।
गालीगलौज तथा ज्यान मार्ने धम्कीको विषयमा रेडियो मेलौली एफएमले गम्भीर ध्यानाकर्षण भएको जनाउदै छानबिन गरी कारवाहीको माग गरिएको छ। समाचारप्रति असहमति भएमा विधिसम्मत समाधान खोज्न सकिने प्रावधान विपरीत कर्मचारी समेत रहेका चन्दले दिएको धम्की प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत मात्र नभई कानूनी रूपमा पनि दण्डनीय कार्य रहेको मेलौली एफएमको निस्कर्ष रहेको छ।
पत्रकारमाथि भएको यस्तो धम्कीको तत्काल निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन रेडियो मेलौली एफएम सम्बद्ध निकायसँग जोडदार आग्रह गर्दछ विज्ञप्तीमा भनिएको छ। एफएमका व्यवस्थापक लक्ष्मण विसी र बजार व्यवस्थापक मंगेश दयालको सुरक्षा प्रत्याभूति गराई दोषीलाई हदैसम्म कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरिएको छ।
प्रेस विज्ञप्ति
