राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। आज काठमाण्डौको पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उहाँले आउँदो फागुन २१ गतेको चुनावलाई सफल बनाउन आह्वान गर्नुभएको हो।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको चुनाव देश र लोकतन्त्र तथा आमनागरिकको भावनाका लागि अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै संविधान, लोकतन्त्र र देशलाई जोगाउनका लागि चुनावको मिति घोषणा गरिएको पनि बताउनुभयो।
यो चुनावबाट नै देशले निकास पाउने र सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले समाज तथा देशको आवश्यकता अनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनुपर्नेमा पनि जोड दिनुभयो।