बैतडी: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ। ‘प्रविधिको सही प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित अभियानको शुभारम्भ गरिएको हो।
बैतडीको दशरथचन्द नगरपालिकाले अभियानको अवसरमा विभिन्न संघसंस्थाहरुसँग मिलेर आज सदरमुकाममा र्याली प्रदर्शनका साथै सांस्कृतिक कार्यक्रम र सडक नाटक प्रदर्शन गरेको छ।
गोठलापानीबाट विभिन्न नारासहित गढीसम्म र्यालीको आयोजना गरिएको थियो। गढीमा विभिन्न सचेतनामूलक सांस्कृतिक कार्यक्रमका साथै सडक नाटक प्रदर्शन गरिएको दशरथचन्द नगरपालिकाका सामुदायिक मनोसामाजिक संयोजक पवित्रा भट्टले जानकारी दिइन्।
सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले लैङ्गिक हिंसा बढ्दै गएको देखिएकाले त्यस्ता घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले सबै प्रकारका हिंसा अन्त्यका लागि परिवारबाटै शुरुवात गर्नुपर्नेमा जोड दिइन्।
यस्तै नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले लैङ्गिक हिंसा अन्त्यका लागि नगरपालिकाले सबै निकायहरुसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उपप्रमुख चन्दको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख जोशी प्रमुख अतिथी रहेका थिए। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका साथै सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
१६ दिने अभियान अन्तर्गत सीमा नाका झुलाघाटमा मंसिर १८ देखि २१ गतेसम्म सूचना कक्ष सञ्चालन गर्ने तयारी रहेको सामुदायिक मनोसामाजिक संयोजक भट्टले बताइन्। उक्त कक्षमा सीमा नाकाबाट आवतजावत गर्ने नागरिकलाई लैङ्गिक हिंसा न्यूनीकरणका बिषयमा सचेतनामूलक जानकारी दिइने उनले बताइन्। यस्तै लैङ्गिक हिंसाविरुद्ध बनेका कानुनहरुको बिषयमा समेत सूचना कक्षमार्फत जानकारी दिइने भट्टले बताइन्।