बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई देशका विभिन्न स्थानमा रहेका कारागारमा स्थानान्तरण गरिएको हो।
कारागारको बन्दीगृहमा रहेका ५३ जना कैदीबन्दी र ६ जना थुनुवालाई अन्यत्र स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्। ५३ जना कैदीबन्दीमध्ये तीन जनालाई दार्चुला, ९ जनालाई बझाङ, १४ जनालाई डडेल्धुरा र २७ जनालाई बाँकेको नौबस्ता कारागारमा स्थानान्तरण गरिएको भण्डारीले बताइन्।
यस्तै ६ जना थुनुवालाई दार्चुला कारागार पठाइएको छ। नयाँ आउने थुनुवाहरुलाई डडेल्धुरा पठाउने गरिएको भण्डारीले बताइन्।
बैतडी कारागारमा ८५ जना क्षमताको नयाँ बन्दीगृह निर्माण कार्य शुरु हुने भएकाले कैदीबन्दी र थुनुवाहरुलाई स्थानान्तरण गरिएको हो। कार्तिक अन्तिम साता उनीहरुलाई स्थानान्तरण गरिसकिएको भण्डारीले बताइन्।
बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ। केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम शुरु गर्ने तयारी गरेको छ। सो कम्पनीसँग रु सात करोड ९७ लाख ७१ हजार ४१९ रुपैयाँ बन्दीगृहमा निर्माणका लागि सम्झौता भएको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ।
निर्माण कम्पनीले चाँडै काम शुरु गर्ने जनाएको छ। २०८४ असार १५ गतेभित्र नयाँ बन्दीगृह निर्माण गरिसक्ने लक्ष्य रहेको बताइएको छ।