बैतडीमा एमालेको प्रतिनिधि छनौटः प्रदेश कमिटि सल्लाहकार सदस्य चन्दको असन्तुष्टी

बैतडीबाट एमालेले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा प्रदेश कमिटि सल्लाहकार सदस्य गोरखबहादुर चन्दले असन्तुष्टी व्यक्त गरेका छन्। सर्वसम्मतको नाममा आफूलाई महाधिवेशन प्रतिनिधिबाट हटाएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो निर्णय महंगो पर्ने बताएका छन्।

प्रतिनिधि छनौटमा व्यापक धाँधली भएको भन्दै चन्दले केन्द्रीय सदस्य दामोदर भण्डारी र लिलाधर भट्टले आफूलाई प्रतिनिधिबाट आउट गरेको बताए। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘मलाई प्रतिनिधिबाट आउट गर्न ठूलो षडयन्त्र भएको छ । पार्टीमा हाम्रो पनि रगत पसीना छ। यसका हिसाब किताब व्याजसहित असुल गराउने प्रतिबद्धता जाहेर गर्दछु ।’

प्रतिनिधिमा आफूले उम्मेदवारी दिएको तर आफूलाई बिना कारण आउट गरेको उनले बताए। प्रतिनिधि छनौट प्रक्रियामा आफ्नो गम्भीर असहमति रहेको चन्दको भनाइ छ।

चन्द पञ्चेश्वर गाउँपालिका अध्यक्षमा एमालेबाट लगातर दुई पटक निर्वाचित भइसकेका छन्। एमाले बैतडीले सर्वसम्मत रुपमा १५ जना प्रतिनिधि छनौट गरेको दाबी गरेपनि असन्तुष्टीका स्वर सुनिन थालेका हुन्।

Leave A Reply

Your email address will not be published.