बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दले गरे एमाले परित्यागको घोषणा

बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले एमाले परित्याग गरेको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले एमाले परित्यागको घोषणा गरेका हुन्।

एमाले बैतडीले शनिबार महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको थियो। महाधिवेशन प्रतिनिधि छनौटमा असन्तुष्टी जनाएका चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनी नेकपा एमालेबाट २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका थिए। पछिल्लो समयमा अध्यक्ष चन्दको पार्टीका केन्द्रीय सदस्य लिलाधर भट्टसँग टसल बढीरहेको थियो। २०७९ सालको प्रदेश सभा निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका भट्टलाई चन्दले सहयोग नगरेको आरोप लागेको थियो।

एमाले केन्द्रीय सदस्य भट्टकै कारण आफू पार्टी परित्याग गर्ने अवस्थामा पुगेको चन्दले बताए। पार्टीभित्र चरम गुटबन्दी, झोले प्रवृति र चाकरी चाप्लुसी गर्ने प्रथाले आफूलाई उकुसमुकुस बनाएको पनि चन्दले उल्लेख गरेका छन्।

एमाले प्रदेश कमिटि सल्लाहकार सदस्य रहेका चन्दले पार्टी जिम्मेवारी लिलाधर भट्ट, बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै आफूले एमाले परित्याग गरेको सार्वजनिक गरेका गरेका हुन्। लिलाधर भट्ट एमालेका केन्द्रीय सदस्य हुन् भने बिना भट्ट गाउँपालिका उपाध्यक्ष र पुजारा वडाध्यक्ष रहेका छन्।

अध्यक्ष चन्दले लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले प्रतिनिधि बन्न रोकेका कारण आफूले पार्टी परित्याग गरेको बताएका छन्। सहमतिका नाममा आफ्नो उम्मेदवारी हटाइएको उनले दाबी गरे।

आन्तरिक विवाद भएपनि एमाले बैतडीले महाधिवेशनका लागि १५ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको दाबी गरेको छ। शनिबार नै एमाले बैतडीले १५ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो।

Leave A Reply

Your email address will not be published.