बैतडी-बैतडीमा मिनि ब्लड बैंक स्थापना गरिएको छ ।आइतबार जिल्ला अस्पतालमा भण्डारणसहितको मिनि ब्लड बैंक स्थापना गरिएको हो ।
दुर्घटना, प्रसूति, शल्यक्रिया लगायतका बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन मिनि ब्लड बैंक स्थापना गरी सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेलले जानकारी दिए।
“यसअघि रगत आवश्यकता परेको समयमा बिरामीले सुरक्षा निकायकै प्रतिनिधिहरूको भर पर्नु पर्ने बाध्यता थियो”उहाँले भन्नुभयो “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न ब्लड बैंक महत्त्वपूर्ण मानिएको छ।”
मिनि ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा , दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालल बैतडीबिच जिम्मेवारी बाडफाट गरिएको थियो ।
जिल्ला अस्पतालमा सञ्चालनमा ल्याइएको मिनि ब्लड बैंकका लागि एकजना स्वास्थ्य कर्मचारी दशरथचन्द नगरपालिकाले खटाएको छ । त्यस्तै रेडक्रसको समन्वय र आवश्यक उपकरण र अन्य सामग्रीहरु जिल्ला अस्पतालले उपलब्ध गराएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश प्रसाद पन्तले बताए । आश्यकता हुने बित्तिकै बिरामीलाई रगत उपलब्ध गराइने उहाँले जानकारी दिए ।
नियमित ब्लड सङ्कलन हुन थालेपछि खपत नहुने रगतलाई डडेल्धुरा, धनगढी र कञ्चनपुरका ब्लड बैंकमा पठाइने व्यवस्था मिलाइएको छ । यसले रगत नष्ट हुने समस्या कम हुने र आन्तरिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।