बैतडीमा १ सय ३६ जना एचआइभी संक्रमित

बैतडीमा १ सय ३६ जना एचआइभी संक्रमित रहेका छन्।

विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो। जिल्लाभरी १ सय ३६ जना एचआइभी संक्रमित रहेका र उनीहरुले एआरटी औषधी सेवन गरिरहेका स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत खगेन्द्र कार्कीले बताए।

१ सय ३६ जनामध्ये ७४ जना महिला र ६२ जना पुरुष संक्रमित रहेका उनले बताए। एचआइभी संक्रमितहरुलाई गरिने भेदभावका कारण अझै पनि संक्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन्।

जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका २८ जना संक्रमित रहेका छन् भने पाटन नगरपालिकाका २५ जना, मेलौली नगरपालिकाका १६ जना, पञ्चेश्वर गाउँपालिकाका १४ जना, दोगडाकेदार गाउँपालिकाका १८ जना, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकाका १०÷१० जना, शिवनाथ गाउँपालिका ६ जना, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाका ४/४ जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।

यस्तै बैतडीका २१ जना संक्रमित जिल्लाबाहिर दर्ता भएका छन्।

एचआइभी एड्सका बिषयमा कमजोर बुझाइ र संक्रमितहरुलाई गरिने दुव्र्यवहारका कारण उनीहरु खुलेर बाहिर आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए। यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले एचआइभी एड्स संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन स्थानीय सरकारहरुले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

संक्रमितहरुले आफूहरुमाथि विभिन्न खालका भेदभाव हुने गरेको गुनासो गरेका छन्। उनीहरुलाई जिविकोपार्जनमा समेत समस्या रहेको बताइएको छ। ‘अवरोधहरु पार गरौ, एड्स प्रतिकार्य रुपान्तरण गरौं’भन्ने नारासहित ३८ औं विश्व एड्स दिवस बैतडीमा पनि मनाइएको हो।

Leave A Reply

Your email address will not be published.