बैतडीको शिवनाथमा शिक्षकको स्थानीय भत्ता निकासाका लागि पहल

बैतडीको शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशन अनुसार स्थायी, अस्थायी र करार शिक्षक तथा प्राविधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ताबापतको रकम उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी र करार तथा प्राविधिक धारका शिक्षक तथा सहायक शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ। कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार शिक्षकहरुलाई साढे १० महिनाका स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ। तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रकम नपठाएका कारण भत्ता उपलब्ध गराउन समस्या भएकाले केन्द्रलाई पत्राचार गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।

नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७९ श्रावण १ गतेदेखि लागू हुने निर्णय अनुसार स्थानीय तहलाई वर्गीकरण गरी स्थानीय भत्ताको व्यवस्था गरिएको हो। सोही निर्णय अनुसार शिवनाथ गाउँपालिका ‘ग’ वर्गमा सूचीकृत भई स्थानीय भत्ता पाउने स्थानीय तहमा पर्दछ।

गत आर्थिक वर्षमा शिक्षकको स्थानीय भत्ता भुक्तानी हुन नसकेको र चालु आर्थिक वर्षमा शिक्षकहरूले स्थानीय भत्ताको दाबी पेस गरेपछि केन्द्रबाट शिक्षक तलब–भत्ता शीर्षक अन्तर्गत विनियोजित बजेट अपुग हुने अवस्था देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए।

केन्द्रको निर्देशन बमोजिम पालिकाले स्थानीय भत्ता भुक्तानीका लागि आवश्यक विवरण सङ्कलन गरी माग पेश गरेको छ। विवरण अनुसार आधारभूत तहका शिक्षकका लागि २६ लाख ५५ हजार ५३० रुपैयाँ र माध्यमिक तहका शिक्षकका लागि ११ लाख ३२ हजार ११० रुपैयाँ गरी कुल ३७ लाख ९७ हजार ६४० रुपैयाँ बराबरको रकम थप आवश्यक देखिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए।

पालिकाले केन्द्रबाट आवश्यक थप बजेट उपलब्ध भएलगत्तै शिक्षकको स्थानीय भत्ता नियमानुसार निकासा गरिने उनले बताए।

केन्द्रको कार्यविधि कार्यान्वयन गर्दै शिक्षकको हक–हित सुनिश्चित गर्न तथा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउनका लागि पालिकाले हरदम प्रयास गरिरहेको अध्यक्ष साउँदले बताए। केही दिन अघिमात्रै नेपाल शिक्षक संघ बैतडीले शिक्षा विकास तथा समन्वय इकाइलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहहरुबाट स्थानीय भत्ता निकासमा सहजीकरण गरिदिन आग्रह गरेको थियो।

May be an image of ticket stub and text

Leave A Reply

Your email address will not be published.