बैतडी-बैतडीको मेलौली नगरपालिकाले वडा वडामा पुगेर योजना सम्झौता गर्न सुरुगरेको छ । आर्थिक वर्ष २०८२∕८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार नगरपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत गरिने योजनाहहरु वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो । गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ ।
नगरपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरिएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले जानकारी दिनुभयो ।
पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्न सु? गरिएको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर पालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष,सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।
९ वटा वडा रहेको पालिकामा वडा नम्बर ४ बाट योजना सम्झौता गर्ने कार्य सु? गरिएको छ भने बाँकी रहेका वडामा पनि सम्झौता भइरहेको नगरपालिकाले जनाएको छ ।
एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको धामीले बताउनुभयो । ‘‘सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ’’, उहाँले भन्नुभयो, ‘‘यो एक प्रकारको घुम्ती सेवा जस्तै हो, उपभोक्ता समितिले योजना सम्झौता पश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै कार्यालयमा आए पुग्छ, एउटै कामका लागि पटक–पटक आइरहनुपर्दैन ।’’
‘‘विकास निर्माणको काम गर्नका लागि उपभोक्ता समूह गठन गरेर योजनाहरूको सम्झौता गर्न नगरपालिका आउनुपर्ने बाध्यता छ,’’नगर प्रमुख भीम बहादुर चन्द भुकम्पले भन्नुभयो, ‘‘पालिका आउनुपर्ने कारणले उपभोक्ताहरूले समयमा योजना सम्झौता नगर्दा धेरै विकास निर्माणका कामहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था छ । त्यसैले समयमै योजनाहरूको कार्य सम्पन्न गर्नका लागि वडामै पुगेर योजनाहरू सम्झौता गर्न लागेका हौं ।’’
साथै नगर प्रमुख चन्दले योजना निर्माण सम्पन्न गर्नका लागि पूरा गर्नुपर्ने आवश्यक प्रकृयाका बारेमा उपभोक्ता समितिलाई तालिम समेत दिइने गरेको बताउनुभयो ।
जनताको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सु?वात गर्न लागिएको नगर प्रमुख चन्दको भनाइ छ ।