निर्वाचन नजिकिँदै जाँदा बैतडीमा राजनीतिक गतिविधि बढ्दै

बैतडी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले उम्मेदवार सिफारिश गरेका छन्। उम्मेदवार सिफारिश भएका नेताहरुसहित दलहरु गाउँ–गाउँमा पुगेर मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन्।

आगामी प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले उम्मेदवार सिफारिश गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवार सिफारिशको तयारी गरेका छन्। नेपाली कांग्रेसले मत विभाजन प्रक्रियाबाट सभापति चतुरबहादुर चन्दको नाम सिफारिश गरेको छ भने एमालेले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल नाम सर्वसम्मत सिफारिश गरेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवारका रुपमा अघि सारेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले हरिमोहन भण्डारीलाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरिरहेको भएपनि औपचारिक निर्णय हुन बाँकी रहेको रास्वपाका सुदूरपश्चिम संस्थापक महामन्त्री भोजराज जोशीले बताए।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले जिल्लाबाट नेता परमानन्द भट्ट र नरेन्द्र कुँवरको नाम उम्मेदवारका लागि सिफारिश गर्ने तयारी गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिका अधिवेशनसँगै चुनावी अभियान पनि सञ्चालन गरिरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।

पछिल्लो समय शहरदेखि गाउँसम्म निर्वाचनलाई लिएर चर्चा, परिचर्चा र बहससमेत बढ्न थालेको छ। यसैबिच, जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन केन्द्रित आन्तरिक तयारी शुरु गरिसकेको जनाएको छ। निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए।

आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन्। यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा एक सय २९ मतदानस्थल कायम गरिएको छ भने मतदान केन्द्रको सङ्ख्या २ सय १४ पुगेको छ। अघिल्लो निर्वाचनमा जिल्लामा २ सय १० मतदान केन्द्र रहेका थिए। सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, वडा नं ९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला तथा पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा नयाँ मतदान केन्द्र थप गरिएको सूचना अधिकारी दयालले बताए।

यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई पनि तीव्र बनाएको छ। स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको सूचना अधिकारी दयालले बताए।

Leave A Reply

Your email address will not be published.