बैतडीमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने सबै पक्षको प्रतिबद्धता

बैतडीमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नका लागि सबै पक्षले प्रतिबद्धता जनाएका छन्। जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिको बैठकमा सहभागी दलका प्रतिनिधिहरुले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।

यसअघि राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरण पालना नगरेको पाइएकाले अबका दिनमा पूर्ण रुपमा आचारसंहिताको पालना गर्ने प्रतिबद्धता आएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए। उम्मेदवार तथा राजनीतिक दलहरुले प्रचारप्रसार गर्दा सार्वजनिक स्थलमा समेत प्रचार सामग्री राखेको पाइएकाले त्यस्ता सामग्री हटाउने प्रतिबद्धता आएको र अबका दिनमा त्यसो नगर्ने निर्णय बैठकले गरेको छ।

यस्तै चुनावी प्रचारप्रसारको सिलसिलामा अनुमति बिना सवारी साधन प्रयोग गरेको, डिजे साउण्डहरु राखेको पाइएकाले आजैका मितिबाट त्यस्ता क्रियाकलाप नगर्ने प्रतिबद्धता उम्मेदवार र दलका प्रतिनिधिहरुले गरेका छन्। यस्तै निर्वाचन आचारसंहिताले दलका ब्याच, झण्डा,टोपी लगायतका सामग्री वितरणमा रोक लगाएको तर त्यस्ता सामग्रीहरुको प्रयोग गरेको पाइएकाले यस्ता कार्यहरु रोक्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए।

निर्वाचन आचारसंहिता विपरीतका कामहरुका गरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने निर्णय समेत भएको छ। कसैले आचारसंहिता विपरीत झण्डा, ब्यानर, तुल राखेको पाइएमा सुरक्षाकर्मीहरुले हटाउने र नियन्त्रणमा लिने समेत जनाइएको छ।

यस्तै चुनावी प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्री सहभागी भएको पाइएकाले आगामी दिनमा त्यसो भेटिएमा आवश्यक कारवाही गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै राजनीतिक दल तथा उम्मेदवारहरुले सभा, जुलुस र र्याली गर्दा २४ घण्टा अगाडि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने निर्णय पारित गरिएको छ। यो निर्णयको पालना नगरेमा आवश्यक कारवाही अगाडि बढाइने बैठकमा जानकारी दिइएको जिल्ला निर्वाचन अधिकारी भारतीले बताए।

बैठकमा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन तथा व्यवस्थापन समितिका सदस्यहरुका साथै राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। जिल्लामा निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै पक्ष सहमत भएका र त्यसको पालना नगरेमा अब कारवाही प्रक्रिया अघि बढ्ने समितिले जनाएको  ।

Leave A Reply

Your email address will not be published.