बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीपहरू 

‎बालबालिका कुनै पनि समाजको भविष्य र राष्ट्रका अमूल्य नीधि हुन । उनीहरू आजको परिवारका सदस्य मात्र नभई भोलिका नागरिक, नेतृत्वकर्ता र समाज निर्माणका आधार स्तम्भ हुन्। त्यसैले बालबालिकालाई केवल विद्यालयको पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र नभई जीवन जिउने कला, सामाजिक व्यवहार, अनुशासन र नैतिक मूल्यहरू पनि सिकाउनु अत्यन्त आवश्यक हुन्छ।
‎आजको व्यस्त जीवनशैलीमा धेरै अभिभावकहरू आफ्ना छोराछोरीको पढाइप्रति चिन्तित त हुन्छन्, तर उनीहरूको भावना, सोच, बानी–व्यवहार र सामाजिक वातावरणलाई बुझ्ने समय कहिलेकाहीँ कम दिन्छन्। वास्तवमा बालबालिकाको समग्र विकासका लागि अभिभावकले समय दिएर उनीहरूको मनोभाव बुझ्नु अत्यन्त आवश्यक हुन्छ। विशेषगरी विद्यालयको परीक्षा सकिएपछि वा फुर्सदको समयमा अभिभावकले आफ्ना बालबालिकासँग बसेर खुलेर संवाद गर्नु राम्रो अभ्यास हो।
‎परीक्षा सकिएपछि अभिभावकले बालबालिकासँग बसेर उनीहरूको अनुभव सुन्ने, पढाइको अवस्था बुझ्ने, साथीसङ्गी कस्ता छन् भन्ने कुरा जान्ने र उनीहरूलाई के कुरामा रुचि छ भन्ने विषयमा छलफल गर्नुपर्छ। यसले बालबालिकामा आत्मविश्वास बढाउँछ र अभिभावकसँगको सम्बन्ध पनि अझ सुदृढ बनाउँछ।
‎उदाहरणका लागि, कुनै बालकले विद्यालयमा राम्रो नतिजा ल्याउन नसकेको हुन सक्छ। यदि अभिभावकले केवल गाली मात्र गरे भने उसमा निराशा र डर पैदा हुन सक्छ। तर यदि अभिभावकले उसलाई बसाएर “तिमीलाई कहाँ कठिन भयो ? कसरी सुधार गर्न सकिन्छ ?” भनेर सोध्छन् भने बालकले आफूलाई सुरक्षित र प्रेरित महसुस गर्छ। यसरी संवाद र समझदारीले बालबालिकाको व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याउँछ।
‎बालबालिकालाई जीवनका महत्वपूर्ण सीपहरू सिकाउने काम परिवार, विद्यालय र समाजको संयुक्त जिम्मेवारी हो। बाल्यकालमा सिकाइएका बानीहरू जीवनभर टिकिरहन्छन्। त्यसैले बालबालिकामा राम्रो संस्कार, अनुशासन र व्यवहारिक सीपहरू विकास गर्न विशेष ध्यान दिनुपर्छ।
‎१. अभिभावकको भूमिका र बालबालिकासँगको संवाद
‎बालबालिकाको जीवनमा अभिभावक पहिलो शिक्षक हुन्। उनीहरूबाट नै बालबालिकाले बोल्ने, हिँड्ने, व्यवहार गर्ने र सोच्ने तरिका सिक्छन्। त्यसैले अभिभावकको व्यवहार, दृष्टिकोण र जीवनशैलीले बालबालिकाको व्यक्तित्वमा गहिरो प्रभाव पार्छ।
‎अभिभावकले बालबालिकालाई केवल निर्देशन दिने मात्र होइन, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने पनि गर्नुपर्छ। जब बालबालिकाले आफ्नो विचार खुलेर व्यक्त गर्न पाउँछन्, तब उनीहरू आत्मविश्वासी र खुला स्वभावका बन्छन्।
उदाहरणका लागि, कुनै बालक विद्यालयबाट घर फर्किएपछि उदास देखिन्छ भने अभिभावकले सोध्न सक्छन् – “आज के भयो ? विद्यालयमा सबै ठीक छ ?” यस्तो प्रश्नले बालकलाई आफ्ना समस्या र भावना व्यक्त गर्न सजिलो हुन्छ। ‎त्यसैगरी अभिभावकले बालबालिकाको साथीसङ्गीको बारेमा पनि जानकारी राख्नुपर्छ। राम्रो साथीसँग रहँदा बालबालिकामा सकारात्मक सोच र राम्रो बानी विकास हुन्छ । तर गलत संगतले उनीहरूलाई गलत दिशामा लैजान सक्छ।
‎अभिभावकले बालबालिकाको रुचि र प्रतिभालाई पनि सम्मान गर्नुपर्छ। सबै बालबालिका एउटै विषयमा उत्कृष्ट हुन्छन् भन्ने आवश्यक छैन । कोही पढाइमा राम्रो हुन सक्छन् भने कोही खेलकुद, कला वा संगीतमा रुचि राख्न सक्छन्। ‎यसरी अभिभावकको सकारात्मक साथ, संवाद र मार्गदर्शनले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
‎२. सामाजिक व्यवहार र नैतिक संस्कार
‎सामाजिक व्यवहार मानिसको व्यक्तित्वको आधार हो। यदि व्यक्तिमा राम्रो संस्कार र व्यवहार छैन भने उसले ठूलो उपलब्धि हासिल गरे पनि समाजमा सम्मान प्राप्त गर्न सक्दैन। ‎बालबालिकालाई सानैदेखि “कृपया”, “धन्यवाद” र “माफ गर्नुहोस्” जस्ता शब्द प्रयोग गर्न सिकाउनु राम्रो संस्कारको सुरुवात हो ।
‎उदाहरणका लागि, कुनै बालकले विद्यालयमा साथीबाट पुस्तक लिँदा “धन्यवाद” भन्छ भने त्यसले उसलाई सभ्य र सम्मानजनक व्यक्तिको रूपमा चिनाउँछ। ‎त्यसैगरी मानिससँग कुरा गर्दा आँखा हेरेर बोल्ने, नम्र भाषा प्रयोग गर्ने र ध्यानपूर्वक सुन्ने बानी बसाल्नु पनि महत्वपूर्ण सामाजिक सीप हो। बालबालिकालाई सबै मानिसप्रति सम्मान गर्ने बानी पनि सिकाउनु आवश्यक हुन्छ । महिला, वृद्ध, शिक्षक वा साना सबैप्रति सम्मानजनक व्यवहार गर्नु सभ्य समाजको चिन्ह हो ।
‎अर्कोतर्फ अरूको कुरा काट्ने, गफ गर्ने वा मजाक बनाउने बानी राम्रो मानिँदैन। यदि कुनै बालकले आफ्ना साथीहरूको कमजोरीको मजाक बनाउँछ भने त्यसले सम्बन्ध बिगार्न सक्छ। ‎गल्ती स्वीकार गर्ने बानी पनि ठूलो नैतिक गुण हो। यदि कुनै बालकले आफ्नो गल्ती स्वीकार गरेर सुधार गर्ने प्रयास गर्छ भने उसमा जिम्मेवारी र परिपक्वता विकास हुन्छ।
‎३. व्यक्तिगत अनुशासन र जिम्मेवारी
‎अनुशासन जीवनको सफलता प्राप्त गर्ने महत्वपूर्ण आधार हो। अनुशासनले मानिसलाई व्यवस्थित, जिम्मेवार र आत्मविश्वासी बनाउँछ।
‎बालबालिकालाई सानैदेखि आफ्नो काम आफैं गर्न सिकाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, आफ्नो कोठा सफा राख्ने, आफ्नो पुस्तक व्यवस्थित राख्ने वा आफ्नो फोहोर आफैं सफा गर्ने बानी बसाल्नु राम्रो अभ्यास हो। ‎एक परिवारमा आमाबाबुले आफ्ना बालबालिकालाई दैनिक रूपमा आफ्नो जुत्ता मिलाएर राख्न र पुस्तक व्यवस्थित राख्न सिकाए। सुरुमा त्यो कठिन लागे पनि केही समयपछि त्यो उनीहरूको बानी बन्यो।
समयको कदर गर्न सिकाउनु पनि महत्वपूर्ण हुन्छ। समयमै उठ्ने, पढ्ने र खेल्ने बानीले जीवन व्यवस्थित हुन्छ। ‎त्यसैगरी सुरु गरेको काम अन्त्यसम्म पुर्‍याउने बानी पनि आवश्यक हुन्छ। जीवनमा धैर्य र निरन्तरता भएमा सफलता प्राप्त गर्न सकिन्छ।
‎४. व्यवहारिक जीवन सीप र आत्मनिर्भरता
‎जीवनमा व्यवहारिक सीपहरू पनि अत्यन्त आवश्यक हुन्छन्। केवल सैद्धान्तिक ज्ञानले मात्र जीवन सहज हुँदैन। ‎बालबालिकालाई साधारण खाना पकाउने, आफ्नो लुगा सफा राख्ने वा घरका साना कामहरू गर्न सिकाउनु उपयोगी हुन्छ‎उदाहरणका लागि, कुनै विद्यार्थी उच्च शिक्षाका लागि घरबाहिर बस्नुपरेमा यी सीपहरूले उसको जीवन सहज बनाउँछन्। ‎आर्थिक व्यवस्थापन पनि महत्वपूर्ण जीवन सीप हो। बालबालिकालाई पैसाको मूल्य बुझाउने, बचत गर्ने बानी बसाल्ने र अनावश्यक खर्चबाट टाढा राख्ने प्रयास गर्नुपर्छ। ‎यदि बालबालिकाले सानैदेखि बचत गर्ने बानी बसाल्छन् भने उनीहरू भविष्यमा आर्थिक रूपमा जिम्मेवार बन्छन् ।
‎५. सकारात्मक सोच, सहानुभूति र जीवनका मूल्यहरू
‎जीवन केवल व्यक्तिगत सफलता मात्र होइन, समाजप्रति जिम्मेवारी पनि हो। त्यसैले बालबालिकालाई सहानुभूति, सहयोग र सकारात्मक सोचका मूल्यहरू सिकाउनु आवश्यक हुन्छ। ‎उदाहरणका लागि, यदि कुनै बालकले आफ्नो साथीलाई कठिनाइमा देखेर सहयोग गर्छ भने त्यसले मानवताको भावना झल्काउँछ। ‎सफलतामा घमण्ड नगर्ने र असफलतामा निराश नहुने बानी पनि जीवनको महत्वपूर्ण पाठ हो।
अन्ततः जीवन भनेको निरन्तर सिकाइको यात्रा हो। बालबालिकालाई सधैं नयाँ कुरा सिकिरहने र अनुभवबाट ज्ञान लिने बानी बसाल्नुपर्छ। ‎बालबालिकालाई जीवनोपयोगी सीपहरू सिकाउनु केवल एउटा पारिवारिक दायित्व मात्र होइन, यो समाज निर्माणको आधार पनि हो।
अभिभावकले समय दिएर बालबालिकासँग संवाद गर्ने, उनीहरूको भावना बुझ्ने र सही मार्गदर्शन दिने हो भने उनीहरू आत्मविश्वासी, जिम्मेवार र नैतिक व्यक्तित्वका रूपमा विकसित हुन सक्छन्। ‎सामाजिक संस्कार, व्यक्तिगत अनुशासन, व्यवहारिक सीप र सकारात्मक सोचले बालबालिकालाई जीवनमा सफल बन्न मद्दत गर्छ।
यसरी बालबालिकालाई सानैदेखि सही संस्कार र सीपहरू सिकाइयो भने उनीहरू भविष्यमा परिवार, समाज र राष्ट्रका लागि उपयोगी नागरिक तयार हुन्छन।
‎शिक्षक देबेन्द्र दत्त भट्ट 
मेलौली नगरपालिका–०६ बैतडी। हाल डोटी।
Leave A Reply

Your email address will not be published.