बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदानमा जारी “शुभकामना कप खुल्ला पुरुष भलिबल प्रतियोगिता” रोमाञ्चक बन्दै गएको छ। प्रतियोगितामा सहभागी १२ टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ८ टोली क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
क्वाटर फाइनलमा स्थान बनाउने टोलीहरूमा मेलौली नगरपालिका–९, मेलौली नगरपालिका–४, प्रवासी समाज गाउकोट, आयोजक ए, आम्चौर, उदयदेव कफाडी, थालिगडा र धरान टाइगर बझाङ रहेका छन्। राष्ट्रिय रेफ्री धिरज चन्दका अनुसार अबका खेलहरू थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमले पनि माहोल तताउने तयारी गरिएको छ। भोलि र पर्सि आयोजना हुने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूसँगै चर्चित लोक तथा देउडा गायक शेरी औजी र देउडा गायिका सिता पुजाराको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कृष्ण आधारभूत विद्यालयको आयोजनामा तथा कानली सेवा समाजको प्रायोजनामा सञ्चालन भइरहेको यस प्रतियोगिताले स्थानीय खेलकुद विकासका साथै प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले ३३ हजार ३३३ रुपैयाँ र तृतीय हुने टोलीले २२ हजार २२२ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउँदै सामुदायिक एकता मजबुत बनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।