पीडाबाट उठेको यात्रा: आमाको सम्झना र जीवनको संघर्ष

आज २०८२ सालको अन्तिम दिन…
जीवनका सबैभन्दा पीडादायी क्षणहरू पार गर्दै यहाँसम्म आइपुग्दा,
म केवल आफ्नो दुःख मात्र होइन,
मलाई थाम्ने हातहरूको माया पनि सम्झिरहेको छु।

जब आमा टाढिनुभयो,
जब केही दिनमै उहाँ सधैंका लागि बिदा हुनुभयो,
त्यो क्षणले मेरो जीवन नै बदलिदियो।
आमा बितेको तीन दिनमै, परिस्थितिले यस्तो मोड लियो कि
म आफ्नै घर, आफ्नै परिवारबाट टाढा हुनुपर्‍यो…
र अन्ततः, बाध्य भएर बिदेशिनुपर्‍यो।

परदेशको यात्रा सजिलो थिएन—
न मन तयार थियो, न परिस्थिति नै अनुकूल।
आमाको सम्झनाले भरिएको मन,
घरको न्यानोपनको अभाव,
र आफ्ना मान्छेहरूबाट टाढा हुनुको पीडा—
यी सबै बोकेर म अघि बढ्नुपर्‍यो।

तर त्यहीँ अन्धकारमा,
मलाई साहस दिने केही उज्याला अनुहारहरू थिए—
मेरा ठूला बुवा, दाइ, हरु मेरी जिवन संगिनी
र केही हितैषी मित्रहरू…
उहाँहरूको साथ र हौसला बिना
सायद म उठ्नै सक्दिनथेँ।

जब म आफैंसँग हार मान्दै थिएँ,
उहाँहरूले मलाई सम्हाल्नुभयो।
जब म पूर्ण रूपमा टुटिसकेको थिएँ,
उहाँहरूले फेरि बाच्न सिकाउनुभयो।

आज पनि परदेशमा बसेर,
रातको सन्नाटामा जब आमा सम्झिन्छु,
आँखा आफैं रसाउँछन्…
तर त्यहीँ सम्झनाबीच,
उहाँहरूले दिएको साहसले मलाई बलियो बनाउँछ।

जीवनले धेरै कुरा खोस्यो—
तर केही अमूल्य साथ पनि दियो,
जसले मलाई अझै उभिन सिकाइरहेको छ।

आज वर्षको अन्तिम दिनमा,
म आफ्ना पीडाहरूलाई स्वीकार्दै,
मलाई साथ दिने सबैप्रति
हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु।

आमाको आत्माले शान्ति पाओस्…
र उहाँको मायाले सधैं मार्गदर्शन गरिरहोस।

Leave A Reply

Your email address will not be published.