आईसीसी विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरु हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ।
गएरातिको वर्षाले मैदान ओसिलो छ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र युएई सम्मिलित श्रृंखला खेलको थियो। नेपालले चारमध्ये ३ खेलमा जित निकालेको थियो। लिग–टु मा नेपाल १८ अंकसहित सातौं स्थानमा छ। अमेरिका ३६ अंकसहित पहिलो र स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा छ।
यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग दुई/दुई वटा अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ‘ए’ टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ २ मा अमेरिकासँग, जेठ ४ मा फेरि स्कटल्यान्डसँग अनि जेठ ८ मा अमेरिकासँग खेल्नेछ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी ।