वैशाखमा बैतडी प्रहरीका गतिविधि र उपलब्धि सार्वजनिक

बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीले गएको वैशाख महिनामा सम्पादन गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको छ।

नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने काम अन्तर्गत जिल्ला प्रहरी कार्यालयमार्फत एक महिना सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। एक महिनाको अवधिमा बैतडी प्रहरीले ८ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। अदालतबाट विभिन्न समयमा फैसला भइ सजाय तोकिएका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएको वैशाख महिनामा प्रहरीमा ७ ओटा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा सातओटै मिलापत्रमा टुंगिएको जनाएको छ।

यस्तै प्रहरीले समुदायसँग मिलेर अपराधका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम जारी राखेको जनाएको छ। एक महिनाको अवधिमा १ सय १७ ठाउँमा समुदायस्तरीय कार्यक्रम र १५ ओटा विद्यालयमा विद्यालयस्तरीय कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले बताए। ती कार्यक्रमहरुमा डेढ हजार बढी नागरिकको सहभागिता रहेको जनाइएको छ।

समुदाय र विद्यालयमा सञ्चालन भएका कार्यक्रममा लागू औषध दुर्व्यसन रोकथाम, घरेलु हिंसा रोकथाम, अपराध न्यूनीकरण र विभिन्न कानुनका बिषयमा छलफल गरिएको प्रहरी निरीक्षक सिंहले बताए। यस्तै एक महिनाको अवधिमा बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ५२ सवारी साधन कारवाहीमा परेका छन्। त्यस्ता सवारी साधनबाट १ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

बैतडीमा एक महिनाको अवधिमा ८ ओटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए। यी सवारी दुर्घटनामा ५ ओटा चालकको लापरवाहीका कारण भएका थिए भने सवारी साधन, यात्रु र सडकको अवस्थाका कारण ३ ओटा दुर्घटना भएको प्रहरीको विश्लेषण छ।

यस्तै एक महिनाको अवधिमा सातओटा ठाडो उजुरी दर्ता भएको सबै फच्र्यौट गरिएको प्रहरी निरीक्षक सिंहले बताए। जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीको मनोबल बढाउने कामहरु समेत गरेको जनाएको छ। पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा ५ जना प्रहरी कर्मचारीलाई ६५ दिने विल्डिङ वाइरिङ तालिममा सहभागी गराएको, ४५ जनालाई भीड नियन्त्रण अनुशिक्षण तालिम दिइएको र ८२ जनालाई मानव अधिकार तथा प्रहरी आचारसंहिता सम्बन्धी प्रशिक्षण दिइएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.