बैतडीको शिवनाथमा आयुर्वेद, योग र सकारात्मक सोचबारे प्रशिक्षण

बैतडीको शिवनाथमा जनप्रतिनिधिहरूलाई आयुर्वेद सेवा सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलाैलीकाे आयाेजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलाैलीका डाक्टर ललित नारायण रामकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कर्णसिह साउदकाे प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउद विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य, कार्यपालिका सदस्य, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलाैलीका सुचना अधिकारी हिकमत चन्दले जानकारी दिनुभयाे।

कार्यक्रममा आयुर्वेद पद्धतिकाे महत्व, जडिबुटी उपचार सेवा, स्वस्थ जीवनशैली, योग तथा प्राकृतिक उपचारका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलाैलीले सञ्चालन गर्दै आएका विभिन्न सेवाहरू तथा बैतडी जिल्लाभर सञ्चालनमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको अवस्थाबारे समेत जानकारी गराइएको थियो।

हालसम्म डिलाशैनी गाउँपालिका बाहेक जिल्लाका सबै पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भइसकेको र डिलाशैनीमा पनि केन्द्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। जनप्रतिनिधिहरू प्रत्यक्ष रूपमा जनतासँग नजिक रहने भएकाले गाउँ–गाउँसम्म आयुर्वेद सेवा, योग तथा सकारात्मक सोचसम्बन्धी सन्देश पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न प्राकृतिक उपचार, नियमित योग अभ्यास तथा स्वस्थ खानपान अपनाउनुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आयुर्वेद उपचार पद्धतिलाई स्थानीय तहस्तरबाट थप प्रभावकारी बनाउने र नागरिकसम्म सहज पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.