मेलौली न्यूज
जेठ २४ मगंलबार,२०७९
काठमाण्डौ–लगानी बोर्डले सात सय ५० मेगावाट विद्युत् क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउने बारेमा छलफल गरेको छ ।
सोमवार सिंहदरबारको प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले यो परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटीसहितको प्रतिवेदन बनाउन सुझाव समितिले प्रतिवेदन बुझाएको पनि बताउनुभयो ।
भट्टले साढे दुई दशकदेखि अल्झिएको यो परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर निर्माणको चरणमा ल्याउने बताउनुभयो । बैठकले सय मेगावाटको तामाकोसी ुभीु र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ करोड रुपैयाँ स्वीकृत गरेको छ ।
सीईओ भट्टले माथिल्लो कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धी आवश्यक निर्देशन बोर्डबाट प्राप्त भएको जानकारी दिनुभयो । उहाँले सूर्यतारा सिमेन्ट उद्योगले ओगटेको जग्गा परिवर्तन लगायतका विषयमा छलफल भएको पनि बताउनुभयो ।
उज्यालो अनलाईनबाट