मेलौली न्यूज
श्रावण ११ बुधबार,२०७९
बैतडी-जंगली विषालु च्याउ खाँदा मंगलबार मेलौलीमा एकै घरका ५ जना बिरामी भएका छन्।
बिरामी हुनेमा जिल्लाको मेलौली नगरपालिका-५ खलीगाडका १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनीया जोशी र ४ वर्षीया दिव्या जोशी रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।
च्याउ खाएर उनीहरू बिरामी भए पनि उनीहरूलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना गरिएको छ। बिरामी भएका उनीहरूको अवस्था सुधार हुँदै गएको दयालले बताए।
जंगलबाट मंगलबार बिहान टिपेर ल्याएको च्याउ उनीहरू सबैले घरमै पकाएर आएका थिए। च्याउ खाएको केही बेरपछि सबै जनाले बान्ता गर्न थालेपछि अपरान्ह ५ बजे स्वास्थ्य केन्द्र लगिएको थियो। उनीहरूको अवस्था खतरामुक्त रहेकोले बाहिर रेफर गर्न नपर्ने दयालको भनाइ छ।