भदौ १०, शुक्रबार २०७९
काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूबाट निवेदन आह्वान गरेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले शुक्रबारदेखि निवेदन दर्ता गराउन लागेका हुन् ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको बताए।आयोगले दुवै सभाका लागि शुक्रबारदेखि निवेदन दर्ता गराउन लागेको हो।
आयोगले गएको साउन २२ देखि ३१ गते सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ। आयोग परिसरमै उक्त कार्यालय खोलिसकिएको छ।
दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेशसभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ ।
आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तयारी गरेको छ।