बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव


भदौ १३, सोमबार २०७९

बैतडी -बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।

दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास गरेर ती स्वास्थ्य संस्थामा अक्सिटोसिन अभाव छ, यसका साथै अन्य अत्यावश्यक औषधिको समेत अभाव रहेको पाइएको छ।’ अक्सिटोसिन सुत्केरी हुँदा छिटो प्रसूति बेथा लगाउने सुई भएको बताइएको छ।

स्थानीय तहको लापरवाहीले गर्दा यहाँ औषधिको अभाव हुन थालेको हो। अहिले स्वास्थ्य संस्थाहरूमा सम्बन्धित पालिकाहरूले नै औषधि आपूर्ति गर्दै आएका छन्। औषधि खरीद गर्न पालिकामै बजेट हुने भएकाले पालिकाले नै औषधि किनेर स्वास्थ्यचौकीमा पठाउने गरे पनि स्वास्थ्य संस्थामा भनेअनुसार निःशुल्क औषधि पाइने गरेको छैन।
स्थानीय तहहरूले समयमै औषधि खरीद नगरेका कारण औषधि अभाव भएको स्वास्थ्य प्रमुख भट्टको भनाई छ। उनले भने, ‘औषधि खरिदका लागि पालिकाहरूमा पर्याप्त बजेट भए पनि समयमै खरिद गरी आपूर्ति नगर्दा अभाव देखिएको हो, यसमा पालिकाहरूले ध्यान दिन जरुरी छ।’
विनोद सिंह विष्ट………….

Leave A Reply

Your email address will not be published.