बैतडीमा ‘एक बिद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै


भदौ १४, मंगलबार २०७९

बैतडी- बैतडीको मेलौली नगरपालिका ७ की लक्ष्मी भट्ट स्वास्थ्यमा सामान्य समस्या आएको बेला पनि बिद्यालय जान डराउथीन् । महिनावारी भएको बेला त झन् पेट दुख्ने र अन्य समस्याका कारण पढाई नै छुट्ने गरेको थियो । महिनावारीको समयमा निम्तीने स्वास्थ्य समस्याका कारण बिद्यालय छुट्ने गरेको भएपनि अहिले भने अवस्था बदलिएको छ । उनी अहिले नियमित बिद्यालयमा उपस्थीत हुने गरेकी छिन् ।

मणिलेक माध्यामिक बिद्यालयमा अध्ययनरत भट्ट एक बिद्यालय एक नर्स कार्यक्रम सञ्चालन पछि महिनावारीको समयमा निम्तीने सम्भाबित स्वास्थ्य समस्याको बारेमा आवश्यक परामर्श र औषधी बिद्यालयमै पाइरहनुभएको छ । ‘कक्षा सञ्चालन भैरहेको समयमा स्वास्थ्यमा समस्या आएको अवस्थामा स्वास्थ्य संस्था तथा औषधी पसल सम्म जानुपथ्र्यो अहिले त्यस्तो छैन् ’ उहाँले भन्नुभयो ‘बिद्यालयमा परामर्श सेवा देखी औषधी पनि उपलब्ध छ ।’ बिद्यालय समयमा कुनै किसीमको स्वास्थ्य समस्या आइहाले नजिकमा स्वास्थ्य संस्था पनि नहुँदा समस्या हुने गरेको उहाँले बताउुनभयो ।

‘खेल्दा चोटपटक लाग्यो , सामान्य टाउको दुख्यो, अथवा पेट दुख्यो भने पनि कक्षा छोड्नुपर्ने, परामर्श र सामान्य औषधीका लागि स्वास्थ्य संस्था सम्म पर्ने बाध्यता थियो’, सिगास गाउँपालिका २ को अर्जुन माध्यामिक बिद्यालयमा अध्ययनरत छात्र शेर सिह धामीले भन्नुभयो ‘बिद्यालयमा औषधी उपचार पनि पाइरहेका छौ ।’ बिद्यालय नर्स कार्यक्रमले कक्षामा नियमीत उपस्थीत हुन पनि सहज गरेको धामीले बताउनुभयो ।

किशोराअवस्थामा आउने समस्या र परिवर्तनका बारेमा खुलेर कुरा गर्न असहज मान्ने किशोरीहरुले आजभोली खुलेर कुरा गर्न थालेका छन् । अरु बेलामा खासै खुलेर कुरा गर्न नचाहाने किशोरीहरुले पनि अहिले आफ्ना कुराहरु राख्ने गरेको मणिलेक माध्यामिक बिद्यालयका कार्यरत बिद्यालय नर्स यशोदा टेलरले बताउनुभयो । माथिल्लो कक्षाका किशोरीहरुले आफ्ना समस्याहरु शिक्षकहरुसँंग राख्न हिस्कीचाउथे, अहिले आफ्ना कुराहरु खुलेर राख्ने गरेका छन् उहाँले भन्नुभयो ।
एक बिद्यालय एक नर्स कार्यक्रम अन्तर्गत कक्षा सञ्चालन भइरहेको समयमा आउने स्वास्थ्य समस्या संगै खेल खेल्ने क्रममा चोटपटक लागेमा प्राथमिक उपचार सेवा प्रदान हुने गरेको बताउदै बिद्यालय नर्स टेलरले स्वस्थकर खानपिन, घरेलु हिसां, यौन शिक्षा लगायतका बारेमा बिद्यार्थीहरुलाई परामर्श दिइरहेको बताउनुभयो ।
एक बिद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएदेखी बिद्यार्थीको नियमित उपस्थीति बढेको छ । स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अनुपस्थीत हुने बिद्यार्थीहरु अहिले नियमित रुपमा बिद्यालयमा आउने गरेको मणिलेक माध्यामिक बिद्यालयमा प्रधानाध्यपक रमेशदत्त बागले बताउनुभयो ।‘बिद्यालय नर्स कार्यक्रम बिद्यार्थीहरुका लागि एकदमै राम्रो र प्रभावकारी रहेको छ’ उहाँले भन्नुभयो ‘नियमित बिद्यालय आउँदा पढाई राम्रो हुने भयो, नियमित स्वास्थ्य परिक्षणले बिद्यार्थीहरु पनि स्वस्थ पनि रहने भए ’

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत एक बिद्यालय एक नर्स कार्यक्रम बैतडीका तीन स्थानीय तहका तीन ओटा सामुदायिक बिद्यालयमा लागु भएको छ । सिगास गाउँपालिका २ को अर्जुन माध्यामिक बिद्यालय, मेलौली नगरपालिकाको मणिलेक माध्यामिक बिद्यालय र डिलाशैनि गाउँपालिकाको दुर्गा माध्यामिक बिद्यालयमा यो कार्यक्रम लागु भएको हो ।
विद्यालय नर्स कार्याक्रमले यहाँका तीनवटै विद्यालयमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु प्रभावकारी बन्दै गएको छ । किशोरकिशोरीहरु आफ्ना स्वास्थ्यका समस्याहरु खुलेर भन्न थालेका छन् भने नर्सले पनि समस्या समाधानका उपायबारे जानकारी तथा परामर्श दिइरहने गरेका छन् । यसैगरी मानसिक स्वास्थ्य सम्बन्धि सुझाव सल्लाह पनि प्रदान भइरहेको नर्सहरुले बताएका छन् । यस कार्यंक्रमबाट विद्यार्थीहरुको सहभागिता बढेको छ भने गुणस्तर बृद्धीमा पनि यस कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने विश्वास गरिएको छ ।
डम्बरबाबु बोहरा

Leave A Reply

Your email address will not be published.