मेलौली न्यूज
भाद्र २० सोमबार,२०७९
भदौ पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सोमबार महाकाली कोरिडोरको स्थलगत अवलोकन गरेका छन् । ‘जनताका साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर विभिन्न कार्यक्रममा सहभागी हुन बैतडी पुगेका नेता लेखकले बैतडीको तल्लो स्वराडमा पर्ने महाकाली कोरिडोर खण्डको स्थलगत अध्ययन गरेका हुन् ।
सो अवसरमा नेता लेखकले पश्चेश्वरका स्थानिय वासिन्दासँग कोरिडोरका बिषयमा छलफल गरेका थिए । पाँच वर्ष पहिले आफु भौतिक तथा पूर्वाधार विकास मन्त्री भएका बेला महाकाली कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेर ठेक्का लगाएको जानकारी गराउँदै नेता लेखकले महाकाली कोरिडोर सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक प्रगति हुने विश्वास दिलाए ।
उनले भने, ‘कञ्चनपुरको दोधरा चादँनीबाट सुरु हुने महाकाली कोरिडोरले डडेल्धुरा, बैतडी हुदै दार्चुलाको टिंकरसम्म जोड्ने भएकाले यसको निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा प्रगति हुन्छ ।कंचनपुर देखि दार्चुलाको टिङ्कर सम्म कुल ४१३ किलोमीटर दुरीको सडकको करीव ५७ किलोमीटर खण्ड बैतडी जिल्लामा पर्छ ।
नेता लेखकले पन्चेश्वर परियोजना अन्तर्गतको ड्याम साईडको समेत अबलोकन गरेका थिए । नेता लेखकले निर्माणाधीन महाकाली करिडोरको निर्माण प्रक्रियालाई तिब्रता दिनुका साथै पञ्चेश्वर परियोजना नेपाल र भारतको संयुक्त पहलबाट निर्माण हुने भएकाले दुई देशबिच कुटनैतिक पहल आवश्यक रहेको र त्यसका लागि आफुले काठमाडौं फर्केपछि पहल गर्ने नेता लेखकले स्थानिय बासिन्दालाई आश्वासन दिए ।
पञ्चेश्वरका स्थानियवासीले महाकाली नदीमा झोलुंगे पुल आवश्यक रहेकाले त्यसका लागि पहल गरिदिन नेता लेखकसँग आग्रह गरेका थिए । स्थानिय वासिन्दाको माग अनुसार झोलुंगे पुल बनाउनका लागि आफुले पहल गर्ने लेखकले बताए । पञ्चेश्वर लगायत तल्लो स्वराडका अधिकांश कञ्चनपुरको दोधरा चादँनी क्षेत्रमा बसाइ सराई गरेर बस्ने गरेको बताउँदै उनीहरुले आउँदो निर्वाचनमा नेता लेखकलाई निर्वाचित गराउन आफूहरुले पूर्ण सहयोग गर्ने बताएका थिए ।
नेता लेखकको निर्वाचन क्षेत्र कञ्चनपुरको क्षेत्र नम्बर ३ हो । यो क्षेत्रमै महाकाली नगरपालिका अन्तरगत दोधरा र चादँनी पर्छ जहाँ पश्चेश्वर लगायत बैतडीको तल्लो स्वराडका बासिन्दा बसाई सराई गरेर त्यहाँ बसोबास गरिरहेका छन ।