भदौ २४, शुक्रबार २०७९
बैतडी –बैतडीमा पछिल्लो समयमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । गएको साउन यता जिल्ला अस्पतालमा मात्रै एक सय बढी जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पतालका हेल्थ असिष्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।
गएको बुधबार मात्रै जिल्ला अस्पतालमा १५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको हेल्थ असिष्टेन्ट खडायतले जानकारी दिए । यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामी मध्ये साउन यता २६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
जिल्लाका अन्य ठाउँमा पनि स्क्रब टाइफसका बिरामी हुन सक्ने अनुमान गरिएको छ । परीक्षण नगराएका व्यक्तिहरुमा समेत स्क्रब टाइफसको संक्रमण हुन सक्ने हेल्थ असिष्टेन्ट खडायतले बताए ।
माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन।
स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरो जस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा चेकजाँच गर्नुपर्नेमा जिल्ला अस्पताल बैतडीका प्रमुख डा। दिपेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि मात्रै स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने उनले बताए । अहिले जिल्लाभरी ज्वरोका बिरामी रहेकाले ती मध्ये कसैमा स्क्रब टाइफस समेत हुन सक्ने उनले बताए ।
सगुन खबर……………