नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

मेलौली न्यूज
असोज ०७ शुक्रबार,२०७९

नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित विभिन्न ब्यक्तिहरुले पाँच वटा रिट दायर गरेका छन् ।

राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ रहेको दाबी रिट निवेदकहरुले गरेका छन् । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा १ सय १३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

अधिवक्ता सागर बराल, सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध रिट दर्ता दायर गरेका हुन् । उक्त रिटसँगै अन्य कानुन व्यवसायीहरुले पनि थप चार वटा रिट दर्ता गराएका छन् । सबै रिट एकै प्रकृतिका हुनाले आज एकै इजलासमा हेरिने भएको छ ।

Leave A Reply

Your email address will not be published.