असोज ३१, सोमबार २०७९
दार्चुला- जिल्लाका तीन वटा स्थानीय तहमा यूथ भोलिन्टियर ग्रूपले सुदूर स्वास्थ्य निदान पालिका स्तरीय वृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ३० असोजदेखि कार्तिक ४ गतेसम्म संचालन हुने स्वास्थ्य शिविरको आइतबार उद्घाटन गरिएको छ ।
युथ भोलिन्टियर ग्रुपको संयोजन तथा वीर अस्पतालको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा आइतबार र सोमबार गरि दुई दिने शिविर संचालन गरेको छ ।कार्यक्रममा वृहत् स्वास्थ्य शिविरका संयोजक दिवानसिह धामीले स्थानीय स्तरबाट जनसमुदायसम्म स्वास्थ्य सेवा पुर्याउने उदेश्यले उक्त कार्यक्रमलाई संचालन गर्न समन्वय गरेको बताए ।
यस्तै मालिकार्जुन गाउँपालिकाको केन्द्र शंकरपुर, पस्तीमा (कार्तिक १ र २ गते) र महाकाली नगरपालिकाको केन्द्र खलंगामा (कार्तिक ३ र ४ गते) विषेशज्ञ चिकित्सकहरूबाट उपचार तथा परामर्श दिइने छ।
वरिष्ठ हाड जोर्नी तथा नसा रोग विषेशज्ञ डा.बिजय गुरुङ, महिला प्रजनन तथा स्त्रीरोग विषेशज्ञ डा. केशव आचार्य, मानसिक रोग विषेशज्ञ डा. ईश्वरी खनाल, जनरल एन्ड प्लास्टिक सर्जन डनिरन महर्जन र फिजियोथेरापिस्ट डा।धनेन्द्र नाथले सेवा दिइरहेका जनाइएको छ ।
शिविरको आइतबार १ सय २९ पुरुष र १ सय ३१ महिला गरि २ सय ६० जनाले सेवा लिएका थिए।