मंसिर २८,२०७९
बैतडी —बैतडीको मेलौली नगरपालिका ६ लामालेकमा ट्रान्सफर्मर चार्ज सुरु गरिएको छ।आज देखि मेनलाई सुचारु भएसँगै लामालेकमा रहेको ट्रान्सफर्मर चार्ज गर्न सुरु गरिएको हो । वर्षादका कारण विभिन्न ठाउँमा ढलेका पोलहरु र चुडिएका तारहरु जडान गरिएसँगै ट्रान्सफर्मर चार्ज सुरु गरिएको विद्युत प्राधिकरण पाटनका प्राविधिक केशव सिंह ऐरले जानकारी दिए ।
ट्रान्सफर्मर चार्ज भइरहदासम्म मेनलाईनको मर्मत कार्यसमेत जारी रहने उनले बताए ।मेलौलीसम्म केन्द्रिय प्रशारणको विद्युतका लागि दुई वर्षदेखि विद्युत बिस्तारको काम भइरहेको छ । अझै पनि विद्युत पुग्न सकेको छैन ।
लामालेकमा ट्रान्सफर्मर चार्ज भइसकेपछि ग्रामिण क्षेत्रमा विद्युतीकरणको लागि सहज हुने विद्युत प्राविधिक ऐरले बताए ।
विद्युतको ट्रान्सफर्मर चार्ज गर्न सुरु गरिएसंगै यस क्षेत्रका नागरिकहरु विद्युतको पहुँचमा पुग्ने मेलौली नगरपालिका वडा न.५ का निवर्तमान वडा अध्यक्ष बलभद्र दयालले बताए।
यसैगरी मेलौलीमा बन्ने भनिएको सबस्टेसनको कामले पनि गति लिन सकेको छैन । विद्युत प्राधिकरणको प्रादेशिक कार्यलयले हेर्दै आएको सबस्टेसनको काममा ढिलाई भएको हो । बैतडीमा ५१ हजार घरधुरी रहेकोमा १९ हजार घरधुरीमा मात्रै रष्ट्रिय प्रशारण लाईनको विद्युत पुगेको छ । यो समग्र जिल्लामा ३८ प्रतिशत मात्रै हो ।