डडेल्धुरामा विमानस्थल स्थापनाका लागि २१ हजार बढी जानकारी पत्र वितरण

पुस ६, २०७९

धनगढी – डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा निर्माणको प्रक्रियामा रहेको पुइलेक विमानस्थलबारे सुदूरपश्चिम महोत्सवमा २१ हजार भन्दाबढी जानकारी पत्र वितरण गरिएको छ । महोत्सवमा डडेल्धुरा प्रदेश २ बाट निर्वाचित डा तारा जोशीको सचिवालयको सहयोगमा बोल्यान्या थलीले जानकारी पत्र वितरण र हस्ताक्षर संकलन गरेको हो ।

डडेल्धुरामा एयरपोर्ट निर्माणको चर्चा मात्र हुने गरेको र चर्चामा मात्र सिमित नहोस भन्ने उदेश्यले जानकारी पत्रमार्फत जानकारी गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । धार्मिक, सांस्कृतिक पहिचान बोकेको पुइलेक एयरपोर्ट निर्माणले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको रमणीय पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्रको प्रवर्द्धन हुने उनले बताए ।

उक्त अभियानमा २१ हजार बढी जानकारी पत्र वितरणसंगै हस्ताक्षर संकलन पनि गरिएको उनले बताए । डा। जोशीको सक्रियतामा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले अमरगढी नगरपालिकाको विरादेई, गन्यापधुरा गाउँपालिकाको भागेश्वर सामुदायिक वन र अजयमेरु गाउँपालिकाको समैजीमा विमानस्थलका लागि अध्ययन गरेको थियो । अजयमेरु गाउँपालिका–१ समैजीमा विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष गरिएको थियो । अहिले एयरपोर्ट निर्माणका लागि प्रारम्भिक अध्ययन भइसकेको छ भने इआइएको तयारी थालिएको छ ।

प्रारम्भिक चरणमा अध्ययन गर्दा एक हजार मिटरदेखि १५ सय मिटर लामो धावनमार्ग बनाउन सकिने सम्भावना देखिएको छ । संघीय सरकारले ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ सय मिटरको धावनमार्ग बनाउँदा करिब चार अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ । एक हजार मिटर लामो मात्रै धावनमार्ग बनाउँदा करिब डेढ अर्ब रकम खर्च आउने अनुमान प्राधिकरणको छ ।

Leave A Reply

Your email address will not be published.