हेलिकप्टरले ओसार्‍यो साइपालमा अस्पतालको निर्माण सामाग्री

पुस ६, २०७९

बझाङ – बझाङको साइपाल गाउँपालिकामा अस्पतालको निर्माण सामाग्री हेलिकप्टरले ढुवानी गरेको छ। साइपाल गाउँपालिका(३ को लासीमा निर्माण भइरहेको १० शय्याको अस्पताल बनाउन आवश्यक निर्माण सामाग्री (फलामको डन्डी, मसला बनाउन प्रयोग गरिने मेसिन) सिम्रिक एयरको हेलिकप्टरले ओसारेको हो।

करिब २१ करोड रूपैयाँ लगानीमा निर्माण हुन लागेको अस्पतालमा ५० प्रतिशत रकम गाउँपालिकाको लगानी रहेको छ भने ५० प्रतिशत रकम संघीय सरकारको लगानी रहेको साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए।

साइपालमा सडक सञ्जाल नपुगेका कारण हेलिकप्टरबाट अस्पतालको निर्माण सामाग्री ढुवानी गर्नुपरेको हो। साइपालमा पुल तथा अन्य भौतिक संरचना निर्माणका सामाग्री हेलिकप्टरबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ।

अस्पताल निर्माणका लागि आवश्यक सामाग्री मंगलबार सिम्रिक एयरले २७ ट्रिप ढुवानी गरेको छ। अस्पतालको भदौमा गाउँपालिका अध्यक्ष बोहराले शिलान्यास गरेका थिए। साइपालमा १० शय्याको अस्पताल निर्माण शुरु भएपछि स्थानीयहरू खुशी भएका छन्।

Leave A Reply

Your email address will not be published.