भारतसँग सीमा जोडिएको बैतडीमा छैन कोरोनाविरुद्धको खोप

पुस १९, २०७९

बैतडी – कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका वेला जिल्लामा कोरोनाविरुद्धको खोपको अभाव भएको छ। जिल्लाका सबै स्थानीय तहमा खोप अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम सञ्चालन गर्ने भनिए पनि खोप अभावकै कारण शुरु हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरी देखिन थालेपछि स्वदेश फर्किनेलाई झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम थियो’, उनले भने, ‘खोप अभावकै कारण सुरु गर्न सकेका छैनौँ।’

बैतडीमा हाल ४०० डोज भेरोसेल खोप मात्रै मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। खोप अभावबारे स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखालाई जानकारी गराइसकेका भट्टले बताए। खोप आपूर्ति भएपछि सीमामै खोप लागाउने कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

यसैबीच जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ। छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरी देखन थालेपछि नाकामा कडाइ गरिएको हो।

झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षण गरिरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो। उहाँले भन्नुभयो,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौं। स्वदेश फर्किने नागरिकले उनीहरूले खोप पाएरनपाएको बारे एकिन गर्ने काम पनि भइरहेको छ।’ 

छिमेकी देशमा कोरोनाको जोखिम बढ्दै गएपछि जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले पनि आग्रह गरेको छ। कोरोनाको जोखिम कम गर्न भौतिक दूरी कायम गर्न, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेका छन्।

भारतसँग सीमा जोडिएको बैतडीमा अहिले सम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ। हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.