पुस १९, २०७९
बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ को वडाकार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले निलपाल आधारभुत विद्यालय च्वाँमा अध्यापन गराउदै आएका शिक्षकहरुको दरवन्दी कटौती गरेको भन्दै मंगलबार अभिभावक हरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थी संख्या हुदाँहुदै पनि शिक्षक दरवन्दी कटौती गरेको भन्दै तालाबन्दी गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोकर्ण चन्दले जानकारी दिए ।पालिकाले शिक्षकको दरबन्दी कटौती गरेपछि विद्यालय नै सञ्चालन गर्न समस्या भैरहेको चन्दले बताए ।
‘न शिक्षक आइरहेका छन्, नत पढाइ नै भैरहेको विद्यालय सञ्चालनमा समस्या छ यसरी पालिकाले शिक्षक दरबन्दी कटौती गरेर विद्यार्थीको भविष्यमाथी खेलबाड गर्न पाइन्छ रु’चन्दले भने । शिशु सहजकर्ता सहित ५ जना पालिका शिक्षकको दरबन्दी रहेको बिद्यालयमा ३ जना पालिका शिक्षकको दरबन्दी कटौती गरिएको छ ।
अभिभावकहरुले विद्यालय सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै पालिकालाइ पटक पटक आग्रह गर्दा समेत शिक्षक दरबन्दी कटौती गरेपछि विद्यालय सञ्चालनमा समस्या भएको २८ बर्ष देखी कार्यरत शिक्षक डम्मर चन्द ले बताए । विद्यार्थी संख्याका आधारमा पालिका भित्रका विद्यालयमाहरुमा दरबन्दी कटौती गरीएको पालिका अध्यक्ष हरि सिह धामीले बताए ।
प्रत्येक ३० जना विद्यार्थी बराबर १ शिक्षक कायम गर्न खोजीरहेको उनले जानकारी दिए । राजस्व बाडफाँडको रकमले तलब खुवाउनु पर्ने भएकाले बजेट पनि अपुग हुने गरेको उनले बताए । सो विद्यालयमा जालाहाल्ला , कुणीपातल , लोट्ना डौणीबाट पनि विद्यार्थी आउने गरेका छन् । अहिले उक्त विद्यालयमा १४८ जना विद्यार्थी अध्ययनरत छन् ।