बैतडीमा जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियो
बैतडीमा जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियोस्थानीय तहहरुले जग्गा वर्गीकरण नगरेकै कारण जग्गा कित्ताकाट र अंशबण्डाको काम रोकियो
- पुस २३, २०७९
-
बैतडी -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई २३ मंसिर भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर बैतडीको सन्दर्भमा कुनै पनि पालिकाले जग्गा वर्गीकरण गरेका छैनन् । कृषि तथा गैरकृषि जमिन छुट्याएर गर्नुपर्ने वर्गिकरण यहाका कुनैपनि पालिकाले नगरेका हुन् । भू–उपयोग नियमावलीले जग्गालाई १० समुहमा वर्र्र्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । ६ महिनाको समयमा यहाका पालिकाहरुले कुनै प्रगित गरेनन् ।
-
जग्गा वर्गीकरणको बिषयमा पालिकामा छलफल समेत नगर्ने गरेको पाइएको छ । आजसम्म यो बिषय छलफलमा नल्याइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए । प्राबिधिक सहयोगको लागि नापी कार्यालयसँग मसन्वय गर्ने र छलफलको बिषय बनाउने उनले बताए ।
-
जिल्लाको शिवनाथ गाउँपालिकामा पनि यस बिषयमा छलफल अघि नबढेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए । प्राविधिक बिषय भएकाले माथिल्लो निकायसँग समन्वयगरी अघि बढ्ने उनले बताए । सिगास गाउँपालिकाले पनि जग्गा वर्गीकरणको कुनै प्रक्रिया अघि नबढाएको पाइएको छ ।
-
जिल्लाको डिलासैनी गाउँपालिकामा जग्गा वर्गीकरणको लागि आन्तरिक तयारी भइरहेको निमित्त प्रशासकीय अधिकृत गणेश सिंह बोहराले बताए । प्राबिधिक टोली खटाएर वर्गीकरणको तयारी भइरहेको उनले बताए । भूमी इकाई गठन गरी जग्गा वर्गीकरणको लागि गृहकार्य भइरहेको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए । जिल्लाको पञ्चेश्वर र डिलासैनी गाउँपालिकामा जग्गा वर्गीकरणको तयारी भइरहेका बेला अन्य पालिकामा कुनै ठोस प्रगति भएको छैन ।
-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा असोज मसान्तसम्म र दोश्रो चरणमा मंसिर २३ सम्म वर्गीकरणको काम गरीसक्न भनेको भएपनि यहाका पालिकाले उक्त काम गर्न सकेनन् । त्यसपछि यस बिषयमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले चासो राख्दै छिटो जग्गा वर्गीकरण गर्न स्थानीय तहका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । स्थानीय तहका कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर प्रमुख जिल्ला अधिकारी पन्थीले जग्गा वर्गीकरणको काम तुरन्त गर्न निर्देशन दिएका हुन् ।
-
जग्गा वर्गीकरण नहुदा जग्गाको कित्ताकाट तथा अंशबन्डाको काम समेत रोकिएको छ । मन्त्रालयले नियमावली जारी गरेर जेठ २७ गते सबै स्थानीय तहमा परिपत्र जारी गर्दै मंसिर २३ भित्र जग्गा वर्गीकरण गर्न भनेको थियो । मंसिर २३ सम्म कृषि र गैरकृषि जग्गा मात्रै छुट्याउनु भनेको भएपनि यहाका पालिकाहरुले त्यो समेत छुट्याएनन् । अब १० वटै समुहमा वर्गीकरण नगरी कित्ताकाट तथा अंशबण्डा लगायतका जग्गा सम्बन्धी कुनै पनि प्रक्रिया कार्यान्वयन गर्न नसकिने नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।
-
यहाका स्थानीय तहरुले मंसिर २३ सम्म कृषि तथा गैरकृषि जग्गागरी दुईवटा समुहमा मात्रै वर्गीकरण गरिएको भए कित्ताकाट र अंशबण्डा जस्ता कामहरु अघि बढाउन सकिने उनले बताए । ‘मंसिर २३सम्म कृषि र गैरकृषि मात्रै छुट्याएको भएपनि हुन्थ्यो, कित्ताकाट लगायतका नापीसँग सम्बन्धीत सबै काम हुनेथियो तर यहाँका पालिकाले त्यो समेत गरेनन्,’ नापी कार्यालयका प्रमुख चन्ले भने, ‘अब तोकिएका १० वटै समुहमा वर्गीकरण नहुन्जेलसम्म अंशबण्डा, कित्ताकाट लगायत जग्गा सम्बन्धी कुनै काम हुदैन,’ उनले भने ।
-
वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । भौगोलिक अवस्था, भूमिको क्षमता एवं आवश्यकताका आधारमा जग्गाहरूको वर्गीकरण गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रत्येक स्थानीय तहको “भू–उपयोग क्षेत्र नक्सा“ र त्यसको विवरण तयार पारेको छ । सोही अनुरुप जग्गा वर्गीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
-
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार बैतडीमा २६ हजार हेक्टर क्षेत्रफल खेतीयोत्र जमिन रहेको छ । त्यसपछि पनि ५ देखि ६ हजार हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिन बाझै रहेको पाइएको छ।