दामोदर भण्डारी उद्योगमन्त्री चयन, अरु कोको बने मन्त्री ?

धनगढी – नेकपा एमालेबाट दामोदर भण्डारी उद्योग मन्त्री बनेका छन्। मन्त्री भण्डारी २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री थिए। उनी मंसीर ४ को निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० र २०७४ सालमा पनि उनी सांसद बनेका थिए।

भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुन्। २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने। बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत बनेका थिए।
आज नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्। लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री भएका छन्। राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री भए, बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रम मन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराती संस्कृति, पर्यटन मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन्।

नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी भएका छन्। यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक योजना मन्त्री बनाएका थिए।

साथै एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएका थिए। जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन्।

दिनेश खवरबाट

Leave A Reply

Your email address will not be published.