बैतडी- पछिल्लो समयमा बैतडीसहित सुदूरपहाडमा लामो समयदेखिको खडेरीले हिउदेवाली प्रभावित बनेको छ । असोज तेश्रो सातादेखि सुदूरपहाडमा वर्षा भएको छैन । आकासे सिंचाइको भरमा रहेका खेतहरुमा गहुँबाली सुक्न थालेपछि किसानहरु चिन्तीत भएका छन् ।
यसवर्ष असोज १९ गतेदेखि २३ गतेसम्म लगातार ४ दिन वर्षा भएको थियो । त्यसयता सुदूरपहाडमा वर्षा भएको छैन् । कार्तिक पहिलो साता लगाएको गहुँबालीका लागि वर्षा नभएकापछि खेतमै गहुँ सुक्न थालेको पुर्चौडी नगरपालिका–७ का स्थानीय लक्ष्मण साउँदले जानकारी दिए । ‘गहँु छरेदेखि वर्षा भएन, खेतमै गहुँ सुक्न थाल्यो’ उनले भने । बर्षा नहुदा आफुले लगाएको बाली नष्ट भइरहेको उहाँले दुखेसो पोखे ।
यस्तै सुर्नया गाँउपालिका–६का किसान लबदेव अवस्थीको पनि भनाई उस्तै छ । आफ्नो बारीका हिउदे तरकारीका साथै गहुबाली सुक्न थालेको उनले सुनाए । जंगलमा पाइने हरीयो घाँस र स्याउला पनि सुक्नाले गाइबस्तुलाई पाल्न पनि समस्या भइरहेको उनको तर्क छ । अवस्थीले भने ‘खेतबारीमात्रै होइन डाकाडाँ पनि सुख्खा देखिन थाले, भोकमरीको चिन्ता छ,’।
गहुँको लागि करिब ५ पटकसम्म सिचाई गर्नुपर्ने भएपनि आकासे पानीको भरमा रहेका हिउदेबाली नराम्ररी प्रभावित बनेको पाटन नगरपालिकाका कृषि साखा प्रमुख महेश अवस्थीले बताए । सुख्खा हिउदे फलफूलहरु प्रभावित बनेको पनि उनले बताए । ‘कम्तिमा पनि पाँच पटक गहुँको लागि सिचाई हुनुपर्छ, तर यहाँ सिचाई सुबिधा कम छ, हिउदे फलफूलहरु ओखर, स्याउ, आरु, खुर्पानी लगायतका नगदेबाली पनि प्रभावित भए,’ गहुँ र हिउदे फलफूल उत्पादनमा यस वर्ष उल्लेख्य ह्रास आउने कृषि साखा प्रमुख अवस्थीले बताए । हिउदे फलफूलका बोटहरु पात झरेर सुसूप्त अवस्थामा रहेको र यहि समयमा सिंचाई नभए उत्पादनमा ह्रास आउने अवस्थीको भनाइ छ ।
ओखर खेतिको लागि बैतडी जिल्ला पकेट क्षेत्र हो । जिल्लाको पाटन नगरपालिका तथा सुर्नया, दोगडाकेदार र सिगास गाउँपालिका ओखर खेति गरिन्छ ।
सुख्खा फलफूल विकास केन्द्र र नर्सरीहरुमा हिउदे फलफूलका बोेटहरुपनि सुक्न थालेका छन् । लामो समयदेखि वर्षा नहुदा हिउदे फलफूल उत्पादनमा पनि ह्रास आउने सुख्खा फलफूल विकास केन्द्र सत्बाज बैतडीका प्रमुख डम्बर सिंह भाटले बताए । ‘हिउदे फलफूललाई चिस्यानसँगै सिंचाइको आवस्यक पर्छ, तर यस वर्ष हिउद सुख्खा छ, फलफूल उत्पदानमा पनि ह्रास आउन सक्छ ।’ उनले भने ।
बैतडीमा १५ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा गहुँ खेति गरिदै आएको छ । गत वर्ष समयमै वर्षा भएका कारण १८,४८० मेट्रीक टन गहुँ उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण गत वर्ष उत्पादनमा बृद्धी भएको कृषि ज्ञान केन्द्र बैतडीका तथ्याङ्क अधिकृत मिलन कडेंलले जानकारी दिए । समयमै वर्षा भएका कारण २०७७ सालको तुलनामा २०७८ सालमा गहुँ उत्पादन बढेको उनले बताए । ‘यस वर्ष हिउदे वर्षा हालसम्म भएको छैन, हिउदे वालीमा नराम्ररी प्रभाव पर्छ, गहु उत्पदानमा ४ हजार मेट्रीक टनले घट्ने हनुमान छ, फलफूल खेतीमा पनि समस्या हुन्छ’ उनले भने ।
३१ हजार ४८५ हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिन रहेको बैतडीमा २५ हजार हेक्टर क्षेत्रफलमा खेती गरिदै आएको छ । त्यसमध्ये पनि ६,९२२ हेक्टर क्षेत्रफलमा पूर्ण सिचाई पुगेको छ भने ३,७२८ हेक्टर क्षेत्रफल जमिनमा आसिंक सिचाई सुबिधा पुगेको छ ।
जिल्लामा कूल ४२ प्रतिशत खेतमा मात्रै आंसिक र पूर्णसिचाई सुबिधा पुगेको छ । बाकी ५८ प्रतिशत खेति गरिदै आएको जमिनमा सिचाई पुगेको छैन । आकासे सिचाईको भरमा रहेको खेतहरु वर्षा नहुदा उत्पादनमा ह्रास आउने गरेको छ । खेतिपाती गरिदै आएको जमिनमध्ये १४ हजारबढी हेक्टर क्षेत्रफल खेतियोज्ञ जमिनमा सिंचाईको सुबिधा पुगेको छैन ।
कृष्ण बिष्ट