डडेल्धुराको भागेश्वरले शैक्षिक गुणस्तर सुधारका लागि पहल थाल्यो 

डडेल्धुरा –डडेल्धुराको भागेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल शुरु गरेको छ । माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको भएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पहल शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

पहिलो चरणमा भागेश्वर गाउँपालिका वडा नं ३ मा रहेका ८ ओटा विद्यालयका प्रधानाध्यापकहरुसंग १८ बुँदे करार सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष हेमराज चटौत र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुबीच सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । उनले भने ‘हामीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार सहित १८ बुँदे करार सम्झौता गरेका छौं । सामुदायिक विद्यालयमा देखिएका समस्या हल गर्नेदेखि लिएर गुणस्तर सुधारका उपाय सहित सम्झौतामा उल्लेख गरेका छौं ।’

करार सम्झौतामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासन, सुपरीवेक्षण तथा अनुगमन लगायतका बुँदाहरु समेटिएका प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेकाले सामुदायिक विद्यालयहरुलाई भरोसायोग्य बनाउन करार सम्झौता गरिएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । पालिकाभरीका अन्य विद्यालयहरुसंग पनि सम्झौताको तयारी भएको उनले बताए ।

भागेश्वर गाउँपालिकाभित्र ३४ ओटा सामुदायिक विद्यालय रहेका र ती सबै विद्यालयमा करार सम्झौता गरेर शैक्षिक सुधारको अभियान जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । उनले भने ‘शिक्षामा सुधार नहुँदा सम्म अन्य क्षेत्र सुधार गर्न सकिदैन् । त्यसैले हामीले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारमा जोड दिएका छौं।’

वडाभरीका सामुदायिक विद्यालयहरुको पालिकासंग सम्झौता भएपछि अब शिक्षा क्षेत्रमा केही सुधार हुने आसा पलाएको भागेश्वर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष डम्मरराज जोशीले बताए।

सुगुन खबर

Leave A Reply

Your email address will not be published.